ईद अल इतिहादको अवसरमा यूएईमा रहेका २६७ नेपालीलाई माफी

0 Shares

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) सरकारले आफ्नो राष्ट्रिय दिवस ईद अल इतिहादको अवसरमा त्यहाँका विभिन्न कारागारमा रहेका २६७ जना नेपाली कैदीको सजाय माफ गरेको छ।

परराष्ट्र मन्त्रालयले आइतबार (माघ १८) विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। विज्ञप्तिमा यूएई सरकारप्रति नेपाल सरकारले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

“यूएईको ५४औँ राष्ट्रिय दिवस (ईद अल इतिहाद)को शुभ अवसरमा २६७ नेपाली कैदीहरूलाई उदारतापूर्वक दिइएको माफीको लागि नेपाल सरकार यूएई सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार मैत्रीपूर्ण सम्बन्ध र मानवीय भावनाका आधारमा नेपाली नागरिकहरूको सजाय माफ गर्ने यूएई सरकारको निर्णयलाई नेपालले उच्च मूल्यांकन गरेको छ। यस निर्णयले नेपाल–यूएई द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने विश्वास पनि व्यक्त गरिएको छ।

विज्ञप्तिअनुसार, परराष्ट्र मन्त्रालयको निर्देशनमा अबुधाबीस्थित नेपाली दूतावासले पटक–पटक गरेको अनुरोधको सुनुवाइ गर्दै यूएई सरकारले नेपाली कैदीहरूलाई माफी दिने निर्णय लिएको हो।

अन्य कुनै विचाराधीन कानुनी मुद्दा वा प्रतिबन्ध नभएको अवस्थामा, माफी पाएका नेपाली नागरिकहरूले यूएईको प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन सक्ने पनि परराष्ट्र मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचारसबै