कोशी प्रदेशसभा सञ्चालनका लागि वीरेन्द्र सभागृह प्रयोग गर्न करार सम्झौता

0 Shares

विराटनगर । कोशी प्रदेशसभाको नियमित सञ्चालन सुनिश्चित गर्न विराटनगर महानगरपालिका र कोशी प्रदेशसभा सचिवालयबीच वीरेन्द्र सभागृह प्रयोगसम्बन्धी करार सम्झौता भएको छ ।

आइतबार विराटनगर महानगरपालिकामा आयोजित विशेष कार्यक्रममा महानगरपालिका र प्रदेशसभा सचिवालयबीच औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर भएको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा सम्पन्न कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल र प्रदेशसभा सचिव सुदर्शन खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताका साक्षीका रूपमा महानगरको राजस्व महाशाखा प्रमुख सरोज गौतम र प्रदेशसभा उपसचिव अर्जुन घिमिरे रहेका छन् ।

सम्झौताअनुसार विराटनगरस्थित वीरेन्द्र सभागृह आगामी माघ १८ गतेदेखि २०८३ साउन १७ गतेसम्म छ महिनाका लागि कोशी प्रदेशसभा सञ्चालनमा प्रयोग गरिनेछ । यस अवधिमा प्रदेशसभा सचिवालयले विराटनगर महानगरपालिकालाई मासिक ८ लाख रुपैयाँ भाडा तिर्नुपर्नेछ । भाडा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र बुझाउनुपर्ने व्यवस्था गरिएको छ । साथै, प्रचलित कानुनबमोजिम लाग्ने सम्पूर्ण कर प्रदेशसभा सचिवालयले नै व्यहोर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौताको म्याद सकिनु एक महिना अगावै दुवै पक्षको सहमतिमा अवधि थप गर्न सकिने प्रावधान पनि राखिएको छ । प्रदेशसभा सचिवालयले सम्झौता अवधि पूरा हुनुअघि नै करार अन्त्य गर्न चाहेमा एक महिना अगावै सूचना दिनुपर्नेछ भने महानगरपालिकाले समयअगावै सम्झौता अन्त्य गर्नुपर्ने अवस्थामा दुई महिना अगावै जानकारी दिनुपर्ने व्यवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत दुलालले जानकारी दिए ।

प्रदेशसभा सञ्चालनका लागि महानगरको स्वामित्वमा रहेको वीरेन्द्र सभागृह उपलब्ध गराइएकोप्रति प्रदेशसभा सचिव सुदर्शन खड्काले विराटनगर महानगरपालिकालाई धन्यवाद व्यक्त गरे ।

गत भदौ २४ गते ‘जेन–जी आन्दोलन’ का क्रममा प्रदेशसभा भवनमा आगजनी हुँदा भवन पूर्ण रूपमा क्षति पुगेपछि प्रदेशसभा सञ्चालनमा समस्या उत्पन्न भएको थियो । त्यसपछि वैकल्पिक रूपमा मोरङको कटहरीस्थित थोक तथा तरकारी बजारको भवन प्रयोग गर्ने तयारी भए पनि आवश्यक पूर्वाधार र व्यवस्थापनको अभावका कारण प्रदेशसभा सञ्चालनमा असहजता आएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचारसबै