खलनायक बनेर इतिहासको पानामा हराउन चाहान्न म : प्रचण्ड

0 Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू परम्परागत पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका छन् । आइतबार नयाँ पुस्ता र राष्ट्रका नाममा भिडियो सन्देश सार्वजनिक गर्दै उनले सत्ता भागबण्डाको राजनीतिबाट आफू अलग रहेको स्पष्ट पारेका हुन् ।

भिडियो सन्देशमा प्रचण्डले धेरैले आफूलाई अन्य पुराना नेताहरूसँग एउटै रूपमा हेर्ने गरेको उल्लेख गर्दै त्यसलाई अस्वीकार गरे । ‘म सत्ताको भागबण्डा र सम्झौताबाट देशलाई बन्धक बनाउने खेलमा कहिल्यै सहभागी हुन चाहन्नँ,’ उनले भने, ‘म फरक छु, र त्यो फरकपनलाई काम र निष्ठाबाट प्रमाणित गरेर देखाउनेछु।’

उनले आजको पुस्ताले उठाइरहेको सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको एजेन्डा आफूले जनयुद्धकालदेखि नै बोकेको दाबी गरे । देशमा राजनीतिक स्थिरता र विकासको आधार प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था भएको उल्लेख गर्दै प्रचण्डले संसदीय अंकगणित र कुर्सीको तानातानले मुलुकलाई पछि धकेलेको टिप्पणी गरे । ‘मेरो माग र नयाँ पुस्ताको माग एउटै हो,’ उनले भने, ‘म यही पुस्ताको सोच बोकेर हिँडिरहेको यात्री हुँ।’

सन्देशका क्रममा उनले आफ्नो निजी जीवनका पीडादायी पक्षहरू पनि सार्वजनिक गरे । जेठी छोरी ज्ञानु र छोरा प्रकाश गुमाएको पीडा, जीवनसाथीको असामयिक निधन र हजारौँ सहयोद्धा गुमाउनु परेको स्मरण गर्दै उनले आफ्नो जीवनलाई ‘खुला किताब’को संज्ञा दिए । ‘एउटा मानिसले जीवनमा गुमाउन सक्ने सबै कुरा मैले गुमाएँ,’ उनले भने, ‘तर यो संघर्ष व्यक्तिगत होइन, हजारौँ शहीदहरूको सपना पूरा गर्ने यात्रा हो।’

प्रचण्डले आफू इतिहासमा खलनायकका रूपमा हराउन नचाहेको स्पष्ट पारे । हलिउडको चर्चित संवाद उद्धृत गर्दै उनले देशलाई सही दिशामा नपुर्‍याएसम्म विश्राम नलिने दृढता व्यक्त गरे । ‘म हार मान्न तयार छैन,’ उनले भने, ‘किनकि मेरो काम अझै सकिएको छैन।’

सन्देशको अन्त्यमा प्रचण्डले आफू नयाँ विचार र नयाँ पुस्ताका लागि सधैँ खुला रहेको बताए । उनले युवाहरूलाई प्रश्न गर्न, दबाब दिन र गम्भीर बहसमा उत्रिन आग्रह गर्दै अबको २० वर्ष परीक्षण र त्रुटिमा नयाँ नेताहरू जाँच्ने समय नभएको उल्लेख गरे । ‘अब गम्भीरतापूर्वक सोच्ने बेला आएको छ,’ उनको भनाइ थियो ।

सम्बन्धित समाचारसबै