झापा । झापा–५ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रञ्जित तामाङले आफू स्थानीय भूगोल र जनताको बीचमै बसेर राजनीति गर्ने उम्मेदवार भएको दाबी गरेका छन् । उनले आफूलाई ‘गुगलको उम्मेदवार’ नभई ‘भूगोलको उम्मेदवार’ भन्दै रास्वपाका नेता बालेन्द्र शाहतर्फ संकेत गरेका हुन् ।
झापा–५ को मूल निर्वाचन परिचालन समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै तामाङले बाहिर बसेर इन्टरनेटमार्फत क्षेत्र चिन्ने नेताहरूभन्दा स्थानीय समस्यासँग प्रत्यक्ष रूपमा जोडिएको उम्मेदवार आफू भएको बताए । ‘म गुगलबाट झापाको नक्सा हेरेर राजनीति गर्ने होइन,’ उनले भने, ‘यहाँकै भूगोलमा बसेर, यहीँका जनतासँग घुलमिल भएर काम गर्ने उम्मेदवार हुँ।’
तामाङ झापा–५ अन्तर्गत पर्ने कमल गाउँपालिका–१ का स्थायी बासिन्दा हुन् ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा झापा–५ मूल निर्वाचन परिचालन समितिका कमान्डर सुरेन्द्र बस्नेतले पनि तामाङलाई झापा–५ को वास्तविक र स्थानीय उम्मेदवारका रूपमा प्रस्तुत गरे । उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भक्तपुर–२ का मतदाता र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह काठमाडौं–२ का मतदाता रहेको उल्लेख गर्दै झापा–५ को प्रतिनिधित्व गर्ने असली उम्मेदवार तामाङ नै भएको दाबी गरे ।
झापा–५ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपाबाट रञ्जित तामाङसँगै नेकपा (एमाले)बाट अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वरिष्ठ नेता बालेन्द्र शाह, नेपाली कांग्रेसबाट मन्धरा चिमरिया तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मीप्रसाद सङ्ग्रौला चुनावी प्रतिस्पर्धामा रहेका छन् ।