सुधन गुरुङका विरोधाभास र राजनीतिक युटर्न

0 Shares
काठमाण्डौं । अमेरिकी लेखक रिचर्ड कादरीको चर्चित पुस्तक बुचर बर्ड मा आएको एक भनाइ छ ‘विरोधाभासलाई अङ्गाल्नु भनेको कि बौद्धिकताको लक्षण हो कि त मूर्खताको।’

यही भनाइ २३–२४ भदौको जेन–जी विद्रोहपछि चर्चामा आएका युवा नेता सुधन गुरुङको राजनीतिक यात्रासँग धेरैले जोड्न थालेका छन्।

आन्दोलनका दिनमा माइतीघरमा पानी बाँड्दै आफूलाई ‘आन्दोलनकारी होइन, स्वयंसेवक’ भनेर चिनाउने सुधन, केपी ओली नेतृत्वको सरकार सडकबाट ढलेपछि भने आफूलाई आन्दोलनको ‘स्टेकहोल्डर’ भन्न थाले। राष्ट्रपति रामचन्द्र पौडेलको टोलीदेखि जङ्गी अड्डाका उच्च अधिकारीसम्मलाई थर्काएर फोन गरेको भिडियो सार्वजनिक भएपछि उनी एकाएक चर्चाको केन्द्र बने। उमेरले ३८ वर्षका भए पनि अन्तर्राष्ट्रिय मिडियाले उनलाई १३ देखि २८ वर्षसम्मको पुस्ता जेन–जीको नेताका रूपमा व्याख्या गर्‍यो। एक समय उनी यति प्रभावशाली देखिए कि सरुवा,बढुवादेखि सरकारका महत्त्वपूर्ण छलफलसम्ममा अरूले नपाउने पहुँच पाए।

तर, सुधनसँग जोडिएका अनुहारहरू भने क्रमशः पक्राउ पर्दै आए। उनका चुनावी प्रचार संयोजक मुक्ति पाण्डे पछिल्लो पटक पक्राउ परे। सुधनसँग नजिकिएर दी ब्रिटिस कलेजसँग पैसामा ‘बार्गेनिङ’ गरेको आरोपमा विवेक ढकाल यसअघि नै पक्राउ परिसकेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहणदेखि विभिन्न समारोहमा सुधनसँगै देखिएका अर्जुनबहादुर शाही पनि पहिल्यै पक्राउ परेका थिए।

सेप्टेम्बरको अन्तिम साता कतारी टेलिभिजन अल जजिराले सुधनलाई ‘भावी प्रधानमन्त्री बन्न सक्ने’ व्यक्तिका रूपमा चर्चा गर्‍यो। तर, अहिले उनी बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री बनाउने एजेन्डासहित गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यको चुनावमा होमिएका छन्। सुधनका विरोधाभास मात्र होइन, राजनीतिक युटर्न पनि उत्तिकै चर्चित छन्। तीमध्ये चार प्रमुख युटर्न यस्ता छन्:

१. प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
सुधनले प्रधानमन्त्री बनेको भोलिपल्टै सुशीला कार्कीको राजीनामा मागे। २८ भदौमा बालुवाटारको गेटमै उनले आक्रोश पोखे। गत मंसिरमा गृहमन्त्री ओमप्रकाश अर्यालको पनि राजीनामा माग्दै ‘नदिए जनआन्दोलन उठ्ने’ चेतावनी दिए। तर, न राजीनामा आयो, न आन्दोलन। उल्टै उनी अर्यालकै सुरक्षा कमान्ड रहेको चुनावमा गोरखाबाट उम्मेदवार बने। अहिले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा उनको सार्वजनिक भाषणबाट हराएको छ।

२. ओली र लेखक पक्राउ अभियान
दसैँपछि सुधनले जेन–जी आन्दोलनका बेला प्रधानमन्त्री रहेका केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको तस्बिर राख्दै ‘हत्यारा’ भन्दै पक्राउ अभियान चलाए। ‘हत्यारालाई पक्राउ गर, नत्र राज्य कदम चाल्न बाध्य हुनेछ’ भन्ने चेतावनीसहित सुरु गरिएको अभियान असोजमै सेलायो। अहिले यो मुद्दामा उनी मौन छन्।

३. संविधान फाल्ने कि जोगाउने बहस
एक समय सुधनले ‘संविधान राख्ने कि फाल्ने चिन्ता’ आफूलाई लागेको भन्दै अभिव्यक्ति दिए। तर, केही महिनामै त्यो धारणा फेरियो। संविधानको पक्षमा उभिँदै यसको महत्त्व स्वीकार्न थाले। ‘संविधान केही होइन’ बाट ‘संविधान नै सबै हो’ भन्ने बुझाइसम्म पुग्न उनलाई धेरै समय लागेन।

४. स्वतन्त्रबाट दलीय राजनीतिमा प्रवेश
जेन–जी विद्रोहपछि बनेको सरकारमा चाहेको भए मन्त्री बन्न सक्ने हैसियत हुँदाहुँदै सुधनले आफू स्वतन्त्र रहने र बाहिरबाट खबरदारी गर्ने बताएका थिए। तर, यो अडान दीर्घकालीन बनेन। माघको पहिलो साताबाट उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आबद्ध भए र गोरखाबाट उम्मेदवार बने।

गोरखाको चुनावी राजनीतिमा प्रवेशसँगै उनी धार्मिक गतिविधिमा पनि देखिन थाले—गोरखनाथ मन्दिर पुगेर घण्टा बजाउनेदेखि चुनावी अभियानमा ‘घण्टी’ प्रतीकसँग जोडिनेसम्म। भूकम्पपछिको राहतदेखि ‘इनफ इज इनफ’ आन्दोलनसम्म पनि सुधनको भूमिका विवादित रहँदै आएको छ। उनलाई नजिकबाट चिनेका केहीका अनुसार अडान फेर्ने बानी पुरानै हो। इनफ इज इनफ आन्दोलनमा कहिले दूरी, कहिले नेतृत्वको दाबी गर्ने उनको शैलीले विवाद जन्माएको थियो।

एक अगुवाका शब्दमा, “सुधनको युटर्न नयाँ होइन। उनी एक्टिभिजमका ऋषि धमलाजस्तै हुन्।”
यही कारण, सुधन गुरुङको राजनीतिक यात्रा आज पनि समर्थक र आलोचक दुवैका लागि जिज्ञासा र विवादको विषय बनेको छ। शिलापत्रबाट

सम्बन्धित समाचारसबै