विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ

0 Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गत रहेको वैदेशिक हुलाक भन्सार शाखामा घुसखोरी गरेको आरोपमा तीन जना कर्मचारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारबाट उनीहरूलाई घुससहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा हुलाक भन्सार शाखाका भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र हुलाक भन्सार पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाल रहेका छन्।

अख्तियारका अनुसार कार्यालय सहयोगी पुडासैनीको साथबाट घुसस्वरूप लिएको १० हजार रुपैयाँसहित जम्मा १ लाख ३६ हजार ४२० रुपैयाँ गरी कुल १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको छ। त्यस्तै, नासु रिजालको साथबाट घुस लिएको २० हजार रुपैयाँ र स्रोत नखुलेको रकमसमेत गरी कुल २ लाख ६८ हजार २८८ रुपैयाँ फेला परेको छ।

कुरियर कम्पनीमार्फत विदेश पठाइने सामान सहज रूपमा पास गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग्ने गरेको सूचना पाएपछि अख्तियारले निगरानी बढाउँदै छापा मारेको जनाएको छ। छापाका क्रममा उनीहरूबाट २३ थान मोबाइल फोनसमेत बरामद गरिएको छ।

अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको र संलग्न अन्य व्यक्ति वा नेटवर्कबारे पनि खोजी अघि बढाइएको जनाएको छ।

सम्बन्धित समाचारसबै