काठमाडौं। विशेष महाधिवेशनबाट गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएसँगै पार्टीको पुरानो संस्थापन शक्ति सिमित बन्दै गएको छ। लामो समय पार्टी नेतृत्व सम्हालेका पूर्वसभापति शेरबहादुर देउवा अहिले आफ्नै निवाससम्म सीमित देखिन्छन्। निर्वाचनको मुखमै सभापतिबाट बाहिरिनुपरेपछि देउवा राजनीतिक रूपमा असहज अवस्थामा पुगेका छन्।
गगन थापाले हस्ताक्षर गरेको टिकट लिएर देउवा खेमाकै केही नेता चुनावी मैदानमा उत्रिए पनि देउवा दम्पत्तिलाई भने टिकट दिइएन। संस्थापन पक्षका धेरै प्रभावशाली नेताहरू टिकटविहीन बनेपछि असन्तोष सतहमा देखिन थालेको छ। यही असन्तोष आगामी निर्वाचनमा अन्तर्घातका रूपमा देखिन सक्ने चिन्ता गगन पक्षका नेता–कार्यकर्तामा बढ्दै गएको छ।
सभापति बनेपछि गगनले काठमाडौं–४ छोडेर सर्लाहीबाट उम्मेदवारी दिने निर्णय गरेपछि उनको राजनीतिक जोखिम थपिएको विश्लेषण हुन थालेको छ। कांग्रेसभित्र प्रचलित एउटा भनाइ छ—“कांग्रेसलाई अरूले होइन, कांग्रेसले नै हराउँछ।” इतिहासले पनि यो भनाइलाई पटक–पटक पुष्टि गर्दै आएको छ।
नेपाली कांग्रेसको आन्तरिक राजनीति दाजुभाइ, गुरु–शिष्य वा निकटताले नछेक्ने उदाहरणले भरिएको छ। मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्रीबाट हटाउनेदेखि बीपी कोइरालाको पार्टी, कृष्णप्रसाद भट्टराईलाई गिरिजाप्रसाद कोइरालाले हराएको प्रसंगसम्म कांग्रेसको इतिहास आत्मघाती प्रतिस्पर्धाले भरिएको छ। यही कारण अहिले त्यो ‘भुंग्रो’ मा गगन थापा स्वयं पुगेका छन्।
ठूलो जोखिम मोलेर विशेष महाधिवेशनमार्फत सभापति बनेका गगनलाई पार्टीभित्रैबाट चुनौती आउने सम्भावनालाई हल्का रूपमा लिन नसकिने अवस्था छ। यसैबीच, गगनले देउवासँग निरन्तर संवादमा रहेको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्, जसलाई संस्थापन पक्षको मन जित्ने प्रयासका रूपमा हेरिएको छ।
तर देउवा एक्ला छैनन्। टिकट नपाएका नेताहरूको एउटा समूह निर्वाचनमार्फत बदला लिने मनस्थितिमा रहेको चर्चा कांग्रेस वृत्तमा चलिरहेको छ। पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, डा. शशांक कोइराला, बालकृष्ण खाँडलगायतका प्रभावशाली नेताहरू टिकटबाट बाहिरिएपछि असन्तोष थप चर्किएको छ।
यसै सन्दर्भमा, यसअघि देउवाले टिकट नदिँदा स्वतन्त्र उम्मेदवार बनेर जितेका अमरेशकुमार सिंह यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गगनविरुद्ध मैदानमा उत्रिएका छन्। देशभर रास्वपाको बढ्दो प्रभावको फाइदा उठाउँदै अमरेशले गगनलाई कडा चुनौती दिने तयारी गरेका छन्। निर्वाचन क्षेत्र परिवर्तन गरेर मधेश झरेका गगनका लागि सर्लाहीमा जित निकाल्नु सजिलो देखिँदैन।
यही कारण गगनमाथि आफ्नो निर्वाचन क्षेत्रमा गठबन्धन गर्नुपर्ने दबाब बढिरहेको स्रोतहरूको दाबी छ। स्रोतका अनुसार गगनको रोजाइ एमालेतर्फ गएको छ। एमालेले सर्लाही–४ मा गगनलाई समर्थन गर्ने र त्यसको बदलामा कांग्रेसले झापा–५ मा एमाले उम्मेदवारलाई साथ दिनेबारे अनौपचारिक संवाद सुरु भएको बताइन्छ, यद्यपि औपचारिक सहमति भइसकेको छैन।
संवाद सफल भए सर्लाहीमा एमाले उम्मेदवार अमनिशकुमार यादवलाई डमी उम्मेदवार बनाइने र झापा–५ मा कांग्रेस उम्मेदवार मन्दरा चिमरियालाई त्यही भूमिकामा राखिने सम्भावना रहेको स्रोतको दाबी छ।
उता, एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि पनि झापा–५ यसपटक सहज देखिएको छैन। काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा रास्वपा वरिष्ठ नेता बालेन शाह ओलीविरुद्ध त्यही क्षेत्रबाट चुनाव लड्न पुगेपछि प्रतिस्पर्धा रोचक बनेको छ। एमालेले अहिलेसम्म कुनै दलसँग गठबन्धन नगरेको अवस्थामा कांग्रेसको साथ पाउन सके चुनाव जित्न सजिलो हुने निष्कर्षमा एमाले नेतृत्व पुगेको बताइन्छ।
तर यहाँ अर्को जटिलता पनि छ। सभापति बनेपछि गगन थापाले पहिलो निर्णय नै कांग्रेसले चुनावमा कसैसँग गठबन्धन नगर्ने घोषणा गरेका थिए। यदि केही सिटमै भए पनि एमालेसँग सहकार्य गरे गगन आलोचनाबाट जोगिन नसक्ने अवस्था बन्न सक्छ।
देउवासँग विद्रोह गरेर सभापति बनेका गगनका लागि यो चुनाव ‘गर वा मर’ को अवस्था बनेको छ। विशेष महाधिवेशनबाट निर्वाचित सभापति जनमतबाट अनुमोदित हुन नसके त्यसले पार्टीभित्र गम्भीर सन्देश जाने आँकलन गगनले गरिसकेको स्रोतहरू बताउँछन्। यही कारण सर्लाहीमा जित सुनिश्चित गर्न एमालेसँगको सहकार्य आवश्यक ठानिएको विश्लेषण हुन थालेको छ।
निर्वाचनलगत्तै बैशाखमा नियमित महाधिवेशन गर्नुपर्ने बाध्यता छ। त्यहाँ देउवा पक्ष अहिलेको पराजयको बदला लिने रणनीतिमा जुट्ने सम्भावना प्रबल देखिन्छ।
गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशन देउवा पक्षलाई अस्वीकार्य भएपछि तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई हटाइएको थियो। तर केही घण्टामै शक्ति सन्तुलन उल्टिँदै गगन सभापति र विश्वप्रकाश उपसभापतिमा निर्वाचित भएका थिए। यही घटनाले कांग्रेसको वर्तमान आन्तरिक संघर्षलाई अझ चर्को बनाएको छ।