सपुतको चुनावी स्टाइल: पञ्चकोटबाट मत माग

0 Shares

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्दसूचीमा दलित पुरुष क्लस्टरको दोस्रो नम्बरमा कलाकार प्रकाश सपुतको नाम समावेश भएपछि बागलुङमा चर्चा चलेको छ। पुस १५ गते सपुतको नाम सूचीमा देखिँदा उनका शुभचिन्तकहरू अचम्ममा परेका थिए।

लामो समय कलाकारितामा स्थापित सपुतले राजनीतिमा अचानक प्रवेश गर्दा धेरैले पत्यारै नमान्ने स्थिति सिर्जना भयो। बागलुङमा उनका समर्थकहरूले ‘यो त एमाले थियो, कसरी रास्वपामा पुगे ?’ भन्दै चासो देखाएका थिए।

सपुत पूर्व पत्रकार हुन् र उनी सञ्चारकर्मी हुँदा नेकपा एमालेको जनवर्गीय संगठन प्रेस चौतारीमा आवद्ध थिए। उनका केही अभिव्यक्तिहरूमा पनि एमालेसँग निकटता झल्किन्थ्यो। अघिल्लो वर्ष उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक विमोचन कार्यक्रममा ओलीप्रति सम्मान व्यक्त गरेपछि विवादमा परेका थिए।

प्रकाश बागलुङको काठेखोला गाउँपालिका–३, धम्जाका हुन्। उनले आदर्श नेता हिराबहादुर केसी र कुलबहादुर विकलाई मानेको बताएका छन्। यसपालि दुई जना आफन्त फरक पार्टीबाट उम्मेदवार बनेकोमा उनी खुसी छन्। विकले भने, ‘दुई जना नै सांसद भएर गाउँको विकासमा सहकार्य गर्नेछौँ।’

समानुपातिक उम्मेदवार बनेपछि सपुत आफ्नो गृह जिल्ला बागलुङ आएर सर्वसिद्धिधाम पञ्चकोट र महाघण्टको दर्शन गरेका छन्। बागलुङ नगरपालिका–१, रामरेखामा घरदैलो गरेका उनले रास्वपाका प्रत्यक्ष उम्मेदवार सुशील खड्काको पक्षमा मत मागेका छन्।

रास्वपा बागलुङका अध्यक्ष महेन्द्र खड्काका अनुसार, सपुतको उपस्थितिले मतदाता भेट्न र मत माग्न सजिलो भएको छ। उनका समर्थकहरूले उनलाई उत्साहपूर्वक स्वागत गरेका छन्।

बागलुङमा क्षेत्र नम्बर १ मा ११ जना र क्षेत्र नम्बर २ मा ६ जना उम्मेदवार छन्। प्रमुख दलहरू एमाले, नेपाली कांग्रेस, रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवारहरू प्रतिस्पर्धा गर्दैछन्।

सम्बन्धित समाचारसबै