निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन : प्रधानमन्त्री कार्की

0 Shares

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पूर्ण रूपमा शान्तिपूर्ण बनाउन सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएकी छन्। निर्वाचनको क्रममा एक जना पनि नागरिक घाइते नहोस् भन्ने सरकारको स्पष्ट लक्ष्य रहेको उनले बताइन्।

महाराजगन्जस्थित नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, “आसन्न निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन।” उनले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षाकर्मीहरूको भूमिका निर्णायक हुने उल्लेख गरिन्।

१८ महिना लामो कठोर तालिम पूरा गरी कार्यक्षेत्रमा खटिन लागेका प्रहरी निरीक्षकहरूलाई व्यावसायिकता, निष्पक्षता र जिम्मेवारीबोधका साथ काम गर्न प्रधानमन्त्रीले आग्रह गरिन्। दीक्षित १८३औँ समूहमा ९ महिला र ८३ पुरुष गरी ९२ जना प्रहरी निरीक्षक रहेका छन्।

प्रधानमन्त्री कार्कीले विगतका कमजोरीबाट पाठ सिक्दै भविष्यमा प्रहरी संगठनलाई अझ सक्षम र जनमुखी बनाउने दायित्व युवा अधिकृतहरूको काँधमा रहेको बताइन्। कानुन कार्यान्वयनका क्रममा शिष्टता, संयमता र मानवताको उच्च मूल्यलाई आत्मसात् गर्न उनले विशेष जोड दिइन्।

“तपाईंहरूको निष्पक्षता नै लोकतन्त्रको सुरक्षा कवच हो,” भन्दै प्रधानमन्त्रीले प्रहरीको आचरणले लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउने उल्लेख गरिन्। निर्वाचनलाई शान्त, निष्पक्ष र विश्वसनीय बनाउन सुरक्षा निकायले थप मिहिनेत र समर्पणका साथ काम गर्नुपर्ने उनको भनाइ थियो।

सम्बन्धित समाचारसबै