काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन क्याबिनेटबाट बाहिरिनुको कारणबारे स्पष्ट पारेकी छन्। उनका अनुसार पुनले अघि सारेका केही कानुन समयमै निर्माण हुन नसक्दा उनी असन्तुष्ट बनेर मन्त्री पद छाड्न बाध्य भएका हुन्।
सोमबार राष्ट्रिय सभाको बैठकमा सरकारको तर्फबाट सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले महावीर पुनका मागहरू सकारात्मक भए पनि प्रक्रियागत र परिस्थितिजन्य कारणले तत्काल सम्बोधन गर्न नसकिएको बताइन्। “महावीर पुनज्यूले केही महत्वपूर्ण कानुन बनाउन आग्रह गर्नुभएको थियो,” प्रधानमन्त्री कार्कीले भनिन्, “ती प्रस्तावहरू सार्थक र आवश्यक थिए, तर सीमित समय र प्रक्रिया पूरा गर्नुपर्ने बाध्यताले तत्काल कानुन निर्माण गर्न सकिएन।”
प्रधानमन्त्रीका अनुसार यही कारणले पुन असन्तुष्ट बनेर मन्त्री पदबाट अलग हुने निर्णयमा पुगेका हुन्। यस्ता निर्णयलाई व्यक्तिगत अधिकार र स्वतन्त्रताका रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो।
शिक्षामन्त्री पदबाट राजीनामा दिएपछि महावीर पुनले म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचनमा सहभागी हुने तयारी थालेका छन्। उनले उम्मेदवारी दर्ता गराइसकेका छन्, जसले उनको राजनीतिक यात्राले अब नयाँ मोड लिएको संकेत गरेको छ।