बजारमा नेपाल ग्यास नपाउँदा दैनिकी प्रभावित, सिलिण्डर बोकेर कार्यालय धाउँदै उपभोक्ता

0 Shares

काठमाडौं । दुई सातादेखि उपत्यकासहित देशका प्रमुख सहरमा देखिएको खाना पकाउने ग्यासको अभाव अझै सहज बन्न सकेको छैन। विशेषगरी नेपाल ग्यास नपाउँदा उपभोक्ताको दैनिकी नै प्रभावित बनेको छ। बजारमा वैकल्पिक ग्यास सीमित हुँदा हजारौँ घरधुरी खाना पकाउने समस्यामा परेका छन्।

काठमाडौं उपत्यकामा नेपाल ग्यासको प्रयोग अत्यधिक भएकाले अभावको असर झन् गम्भीर देखिएको छ। भारतबाट समयमै ग्यास आयात हुन नसक्दा आपूर्ति शृंखला प्रभावित बनेको उद्योगीको भनाइ छ। तर, उपभोक्ताका लागि भने समस्या दिनानुदिन चर्किंदै गएको छ।

नेपाल ग्यासका विक्री केन्द्रमा लामो समयदेखि ग्यास नपाइएपछि उपभोक्ता खाली सिलिण्डर बोकेर कम्पनीको केन्द्रीय कार्यालयसम्म पुग्न थालेका छन्। बालाजु औद्योगिक क्षेत्रमा रहेको कार्यालयमा दैनिक सयौँ उपभोक्ताको भीड लाग्ने गरेको छ।

नयाँ बसपार्कबाट खाली सिलिण्डर बोकेर कार्यालय पुगेका नमराज घिमिरेले दुई सातादेखि कतै पनि ग्यास नपाएको बताए। “घरमा एउटै सिलिण्डर थियो, सकिएपछि परिवार नै अलपत्र परेको छ,” उनले भने, “यहाँ आएर पनि ग्यास पाइएन।”

यस्तै, रौतहट स्थायी घर भई हाल चाबहिलमा बस्दै आएका प्रेम साह पनि ग्यास अभावले समस्यामा परेका छन्। काठमाडौंमा ब्याक व्यवसाय गर्दै आएका साहले डेरामा ग्यास सकिएपछि दाउराको आगोमा खाना पकाउनुपरेको बताए। “काम गरेर फर्किंदा पकाउने ग्यास नै छैन, दैनिकी नै गाह्रो भएको छ,” उनको गुनासो छ।

धार्दिङ घर भई काठमाडौंमा बसोबास गर्दै आएका अर्जुन सिम्खडाले पनि वरपरका कुनै पनि पसलमा नेपाल ग्यास नपाएको बताए। “कतै साट्न पाइएन, सबैले छैन भन्छन्,” उनले भने।

उपभोक्ताको गुनासो बढ्दै गए पनि नेपाल ग्यास कम्पनीले भने ढुवानीमा आएको अस्थायी समस्याका कारण यस्तो अवस्था सिर्जना भएको दाबी गरेको छ। नेपाल ग्यासका कार्यकारी सञ्चालक तथा नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्वअध्यक्ष गोकुल भण्डारीका अनुसार नेपाल ग्यासको दैनिक माग ८ देखि १० बुलेट बराबर रहेको छ।

“ढुवानी प्रक्रियामा केही समस्या देखिँदा आपूर्ति प्रभावित भयो,” उनले भने, “अहिले समस्या समाधान भइसकेको छ, तर बजारको चक्र मिल्न केही समय लाग्छ।”

उनका अनुसार नेपाल ग्यासको दैनिक खपत करिब ८ हजार सिलिण्डर रहेको छ, जुन जाडो मौसममा अझै बढ्ने गर्छ। “हाल बजारमा मागभन्दा बढी नै ग्यास छ,” उनले दाबी गर्दै भने, “अहिले आत्तिनुपर्ने अवस्था छैन, नियमित आपूर्ति सुरु भइसकेको छ।”

तर, बजारमा आवश्यकता भन्दा बढी ग्यास थन्क्याउने प्रवृत्तिका कारण पनि कृत्रिम अभाव देखिएको हुन सक्ने उनको संकेत छ।

यसैबीच, नेपाल आयल निगमले नेपाल ग्याससहित केही अन्य ब्रान्डको ग्यासमा देखिएको अभावबारे जानकारी रहेको जनाएको छ। निगमका प्रवक्ता मनोज ठाकुरले उद्योगीहरूलाई छिटो आपूर्ति सहज बनाउन कडा निर्देशन दिइएको बताए।

“चुनाव नजिकिएकाले पनि निगमले विषयलाई गम्भीरताका साथ लिएको छ,” उनले भने, “कसैले कालोबजारी गरे कडा कारबाही हुन्छ।”

सम्बन्धित समाचारसबै