विराटनगर । मोरङ क्षेत्र नम्बर–६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला अभूतपूर्व राजनीतिक दबाबको सामना गरिरहेका छन्। निर्वाचन नजिकिँदै जाँदा क्षेत्रभित्र बढ्दो असन्तुष्टि र पार्टीभित्रकै द्वन्द्वका बीच उनले मतदाता र कार्यकर्तालाई लक्षित गर्दै क्षमायाचनासहितको खुला पत्र पठाउन थालेका छन्।
आफू सांसद रहँदा क्षेत्रप्रति अपेक्षित न्याय गर्न नसकेको स्वीकार गर्दै डा. कोइरालाले अन्तःकरणदेखि क्षमा मागेका छन् र एक पटक फेरि विश्वास गरेर साथ दिन आग्रह गरेका छन्। पत्रमा उनले राष्ट्रिय राजनीतिमा देखिएको अस्थिरता, निराशा र विचलनको चर्चा गर्दै आफ्ना समर्थकहरूप्रति आत्मालोचनात्मक धारणा व्यक्त गरेका छन्।
“निस्वार्थ भावनाले राष्ट्रिय जिम्मेवारीमा पठाउँदा पनि मैले आफ्ना दाजुभाइ, दिदीबहिनीहरूप्रति न्याय गर्न सकेको छैन भने म अन्तस्करणबाट क्षमाप्रार्थी छु,” पत्रमा उल्लेख छ।
डा. कोइरालाले आफू नेपाली कांग्रेसको इतिहास, लोकतान्त्रिक मूल्य र आदर्शमा दृढ विश्वास राख्ने व्यक्ति भएको दाबी गर्दै फेरि उम्मेदवारका रूपमा जनताको घरदैलोमा आएको बताएका छन्। उनले आगामी निर्वाचनमा नयाँ–पुराना दलका उम्मेदवार भोट माग्न आउने उल्लेख गर्दै नेपाली कांग्रेसको तर्फबाट रुख चुनाव चिह्न लिएर आफू पनि मतदातामाझ पुगेको बताएका छन्।
उनले भावी पुस्ताले देशमै भविष्य देख्न सक्ने वातावरण निर्माणका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याउँदै कांग्रेसलाई अत्यधिक मतसहित विजयी बनाउन आग्रह गरेका छन्।
तर, कोइरालाले लेखेको पत्रलाई धेरैले क्षेत्रमा गहिरिँदै गएको राजनीतिक संकटको संकेतका रूपमा व्याख्या गरेका छन्। २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए पनि उनले सांसदका रूपमा उल्लेखनीय विकास पहल नगरेको, जनताका प्रत्यक्ष मुद्दा संसद् र सरकारसम्म प्रभावकारी रूपमा नपुर्याएको तथा क्षेत्रमा सक्रिय उपस्थिति नदेखाएको आरोप लामो समयदेखि लाग्दै आएको छ।
उनको अवस्थालाई पार्टीको आन्तरिक राजनीतिले झनै जटिल बनाएको छ। शेरबहादुर देउवाइतर समूहको नेतृत्व गर्दै आएका डा. कोइरालाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनको खुला विरोध गरेका थिए। विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएपछि उनले पार्टीलाई देशी–विदेशी षड्यन्त्रमार्फत फुटाइएको अभिव्यक्ति दिएका थिए।
गगन थापामाथि कारबाहीको प्रस्ताव आएको कांग्रेस बैठकमा सहभागी भएका कोइरालाले विशेष महाधिवेशनलाई निरन्तर षड्यन्त्रको संज्ञा दिएका थिए। सुरुमा चुनाव नलड्ने घोषणा गरेका उनले अन्ततः गगन थापाले हस्ताक्षर गरेको टिकट लिएर उम्मेदवार बनेपछि उनको राजनीतिक अडानप्रति पार्टीभित्रै प्रश्न उठ्न थालेको हो।
पार्टीभित्र उनका विश्वासपात्र मानिएका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले समेत विशेष महाधिवेशनपछि उनको साथ छाडेपछि असन्तुष्टि तल्लो तहसम्म फैलिएको देखिन्छ। यही कारण उनले क्षेत्रमा खुला रूपमा प्रभावकारी चुनावी अभियान सञ्चालन गर्न नसकेको विश्लेषण गरिँदै आएको छ।
“पहिले विरोध, पछि त्यही नेतृत्वको टिकट” भन्दै कार्यकर्ताले नै प्रश्न उठाउन थालेका छन्। सांसद भएर पनि विकास नदेखिएको, जनताका मुद्दा ओझेलमा परेको र पार्टीभित्रको द्वन्द्वले उनको राजनीतिक आधार कमजोर बनाएको निष्कर्ष निकालिँदैछ।
यही दबाबका बीच डा. कोइरालाले पत्रमार्फत् आफ्ना पुराना समर्थक र असन्तुष्ट कार्यकर्तालाई पुनः एकत्रित गर्ने प्रयास थालेका छन्। तर, त्यो प्रयासले क्षेत्रको असन्तुष्टि कति सम्बोधन गर्छ भन्ने प्रश्न अझै खुला नै छ।