रंगेली–५ मा युवकद्वारा पत्नीको हत्या, पछि आफैंले गरे आत्महत्या

0 Shares

विराटनगर । मोरङको रंगेली नगरपालिकामा मंगलबार बिहानै एक दर्दनाक घटना घटेको छ । घरेलु विवादका क्रममा एक युवकले आफ्नै पत्नीको हत्या गरी पछि आफूले पनि आत्महत्या गरेका छन् ।

रंगेली नगरपालिका–५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली–५ धनपट्टीस्थित ससुराली घरमा गएर पत्नी अम्बिकाकुमारी मण्डल (अन्दाजी २१) को हत्या गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना बिहान करिब २ः४५ बजेतिर भएको हो ।

सोमबार साँझ ससुराली पुगेका मुकेशले विवाद बढेपछि पत्नीलाई कुटपिट गर्दै चक्कुले प्रहार गरेका थिए । चक्कु प्रहारबाट अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेले जानकारी दिए ।

पत्नीको मृत्यु भएपछि मुकेशले पनि सोही चक्कुले आफ्नो घाँटी रेटी आत्महत्या गरेको प्रहरीको भनाइ छ । मुकेशको समेत घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ ।

घटनापछि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल आफैं घटनास्थल पुगेका छन् । हाल दुवै जनाको शव घटनास्थलमै राखी मुचुल्का उठाउनेलगायत कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको छ । घटनाको वास्तविक कारण र पृष्ठभूमिबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारसबै