दमक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले झापाका सुकुमबासी बस्तीमा डोजर नचल्ने स्पष्ट पारेका छन् । झापा–५ अन्तर्गत कमल गाउँपालिकाको सुकुमबासी बस्तीमा मंगलबार स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै उनले काठमाडौंको अवस्था र झापाको अवस्था फरक रहेको बताएका हुन् ।
स्थानीय युवाहरूले ‘चुनाव जितेपछि बस्तीमा डोजर चल्छ कि चल्दैन ?’ भन्ने प्रश्न उठाएपछि बालेनले काठमाडौंमा डोजर ज्यान जोगाउनका लागि चलाइएको दाबी गरे । ‘काठमाडौंमा हटाइएका बस्तीहरू खोलाछेउका सार्वजनिक जग्गामा थिए । बर्खायाममा बाढीको जोखिम उच्च भएकाले असारमै सुरक्षित स्थानमा सारिएको हो,’ उनले भने, ‘तर त्यसलाई गलत न्यारेटिभ बनाएर फैलाइयो ।’
झापाको सन्दर्भमा भने खोलाछेउ बाहेकका सुकुमबासीले अनिवार्य रूपमा लालपुर्जा पाउनुपर्ने उनको धारणा छ । भूमि आयोगमार्फत लगत संकलन गरी स्थानीय सरकारको सिफारिसमा केन्द्र सरकारले लालपुर्जा दिनुपर्ने उनले बताए ।
‘यो समस्या ४०–५० वर्षदेखि समाधान हुन सकेको छैन,’ बालेनले भने, ‘राजनीतिक पहुँच भएकाले पटक–पटक लालपुर्जा पाउने र पहुँच नहुनेले कहिल्यै नपाउने प्रणाली गलत छ । यसलाई सुधार गर्नैपर्छ ।’
स्थानीय युवाहरूले बालेनप्रति भरोसा व्यक्त गर्दै यसपटक घन्टी चुनाव चिन्हमा मतदान गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा सहभागी एक स्थानीयले शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने रास्वपाको एजेन्डाबारे स्पष्टता मागेका थिए । जवाफमा बालेनले पार्टीको घोषणापत्र अन्तिम चरणमा रहेको जानकारी दिए । ‘शिक्षा, स्वास्थ्य र रोजगारीलगायत विषय समेटेर फागुनको पहिलो सातामा घोषणापत्र सार्वजनिक हुन्छ,’ उनले बताए ।
शिक्षा र स्वास्थ्य पूर्ण रूपमा निःशुल्क गर्न तत्काल बजेट चुनौती रहेको स्वीकार गर्दै उनले चरणबद्ध रूपमा न्यायोचित प्रणाली लागू गरिने बताए । साथै प्रदेश संरचना खारेज गर्दा ठूलो खर्च बचत हुन्छ भन्ने धारणा अस्वीकार गर्दै उनले मन्त्री र सांसदको तलबले देश नडुब्ने टिप्पणी गरे ।
झापाको सुकुमबासी बस्तीमा भएको यो भेटघाटले बालेनले सन्दर्भअनुसार फरक चुनावी शैली अपनाइरहेको संकेत गरेको छ । सुदूरपश्चिममा मौन बसेका उनी आफ्नै निर्वाचन क्षेत्रमा भने स्पष्ट र प्रत्यक्ष संवादमा देखिएका छन् ।