काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा मंगलबार काठमाडौँको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि क्षमायाचना पूजा सम्पन्न गरिएको छ। शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै होम, धूप–धूमारसहित आत्मशान्ति सत्याग्रह पुण्य कार्यक्रम आयोजना गरिएको हो।
‘जेनजी सुशासन योद्धा’ परिवारको आयोजनामा भएको कार्यक्रममा शहीद परिवार, नागरिक समाजका प्रतिनिधि तथा अभियानसँग आबद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा ज्यान गुमाएका युवाहरूको आत्माले शान्ति पाओस् भन्ने कामना गरेका थिए।
गत भदौ २३ गते भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण आन्दोलनका क्रममा संसद भवन अगाडि प्रदर्शन गरिरहेका युवामाथि प्रहरीले गोली प्रहार गरेको थियो। उक्त घटनामा १९ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए। गोलीकाण्डपछि भदौ २४ गते संसद भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायत देशका विभिन्न सार्वजनिक तथा निजी संरचनामा आगजनी र तोडफोडका घटनाहरू भएका थिए।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा कुल ७६ जनाको मृत्यु भएको सरकारी तथा आन्दोलन पक्षको विवरणमा उल्लेख छ। तीमध्ये ४५ जनालाई सरकारले औपचारिक रूपमा शहीद घोषणा गरेको छ भने बाँकी मृतकको विषयमा अझै स्पष्ट निर्णय हुन सकेको छैन।
सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणको मुख्य मागसहित युवाहरूले आन्दोलन थाले पनि आन्दोलनपछि गठन भएका सरकारले ती मागहरू सम्बोधन गर्न ठोस र प्रभावकारी कदम चाल्न नसकेको भन्दै शहीद परिवार र अभियानकर्ताहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन्। उनीहरूले शहीद घोषणा, न्यायिक छानबिन, दोषीमाथि कारबाही र सुशासनसम्बन्धी प्रतिबद्धता कार्यान्वयनको माग दोहोर्याएका छन्।
कार्यक्रममा सहभागीहरूले शहीदको बलिदानलाई राजनीतिक नारामा सीमित नराखी व्यवहारिक सुधारमार्फत सम्मान गर्न सरकारलाई आग्रह गरेका छन्।