भानुभक्त ढकालः बालेनलाई ओलीसँग भिडाउनु योजनाबद्ध राजनीतिक चाल हुनसक्छ

0 Shares

विराटनगर । नेकपा (एमाले)का सचिव भानुभक्त ढकालले काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन साह (बालेन्द्र)लाई झापाको क्षेत्र नम्बर–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा उतार्नुलाई “योजनाबद्ध राजनीतिक चाल” भएको बताउनुभएको छ।

मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढकालले भने, “बालेनलाई केपी ओलीसँग चुनाव भिडाउनु कतै उनकै घेराभित्रको रणनीति त होइन? प्रधानमन्त्री र दलको नेतृत्वको दबाबबाट जोगाउन खोजिएको हुन सक्छ। ओलीसँग प्रतिस्पर्धा गराउनु भनेको उनलाई राजनीतिक रूपमा कमजोर पार्नु हो।”

ढकालले वर्तमान चुनावी माहोललाई अस्थायी भएको भन्दै भावनामा आधारित राजनीति दीर्घकालीन नहुने दाबी गर्नुभयो। “अहिले ज्वरो आएजस्तो देखिन्छ, तर विस्तारै ज्वरो घटेर जान्छ। संगठन, कार्यकर्ता र जनआधार बलियो भएको दल नै निर्णायक हुन्छ,” उहाँले भन्नुभयो।

ढकालले आगामी प्रतिनिधि सभा निर्वाचनमा एमालेले स्पष्ट एकल बहुमत ल्याउने दाबी पनि गर्नुभयो। उहाँका अनुसार पार्टीको सांगठनिक शक्ति, देशव्यापी संरचना र जनआधारका कारण एमाले पहिलो दल बन्ने अवस्था छ।

पछिल्लो समय उदाएका नयाँ राजनीतिक शक्तिहरूलाई ढकालले अस्थायी लहरको संज्ञा दिनुभयो। उहाँले भन्नुभयो, “स्थापित दलहरूप्रतिको जनसमर्थन अझै मजबुत छ। नयाँ दलहरूको चर्चा धेरै देखिए पनि त्यसको दीर्घकालीन आधार छैन।” उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत नयाँ दलहरूको बढ्दो चर्चालाई ‘खहरेको बाढी’सँग तुलना गर्दै यसको स्थायित्व नहुने दाबी गर्नुभयो।

ढकालले विगतमा बनेको विपक्षी गठबन्धनको प्रभाव क्रमशः कमजोर हुँदै गएको उल्लेख गर्नुभयो। उहाँका अनुसार गठबन्धनभित्रको असन्तुलन र आन्तरिक द्वन्द्वले प्रत्यक्ष निर्वाचनमा एमालेलाई उल्लेख्य सिट जित्ने आधार तयार गरेको छ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भएको फोन संवादबारे ढकालले टिप्पणी गर्दै यसलाई सामान्य राजनीतिक प्रक्रिया भने। “राजनीतिमा संवाद हुनु अस्वाभाविक होइन। यसलाई अनावश्यक रूपमा अर्थ्याइरहनु पर्दैन,” उहाँले भन्नुभयो।

ढकालले आफ्नो राजनीतिक यात्राबारे पनि जानकारी दिनुभयो। उहाँ २०७४ र २०७९ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए। २०७४ मा कांग्रेसका डा. सुनील शर्मालाई हराएर निर्वाचित भए पनि २०७९ मा सोही क्षेत्रमा पराजित हुनुभयो।

यसपटक ढकालले मोरङ–३ छोडेर गृहजिल्ला तेह्रथुमबाट उम्मेदवारी दर्ता गर्नुभएको छ। मोरङ–३ मा एमालेले ईरान राईलाई उम्मेदवार बनाएको छ। ढकालले त्यहाँ एमालेको जीत सुनिश्चित रहेको दाबी गर्नुभयो।

सम्बन्धित समाचारसबै