हिमाली जिल्लामा अत्यधिक चिसो भए दोस्रो चरणमा चुनाव हुनसक्छ: प्रधानमन्त्री कार्की

0 Shares

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा हिमपातका कारण अत्यधिक चिसो भई निर्वाचन गर्न कठिन अवस्था सिर्जना भएमा प्रतिनिधि सभा सदस्य निर्वाचन दोस्रो चरणमा गर्न सकिने बताएकी छन्।

मंगलबार पूर्वी नवलपरासीको हात्तिखोरस्थित नेपाली सेनाको ब्यारेकमा आयोजित राष्ट्रिय सेवादलको दीक्षान्त समारोहलाई सम्बोधन गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले हिमाली जिल्लाको भौगोलिक र मौसमी अवस्थालाई मध्यनजर गर्दै वैकल्पिक तयारी गरिएको जानकारी दिइन्।

उनले भनिन्, “यदि अत्यधिक चिसोका कारण मतदान प्रक्रिया सञ्चालन गर्न नसक्ने अवस्था आयो भने हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन गरिन्छ।” यद्यपि, सरकारले हिमाली जिल्लामा पनि फागुन २१ गते नै निर्वाचन सम्पन्न गर्ने तयारी गरिरहेको स्पष्ट पारिन्।

प्रधानमन्त्री कार्कीका अनुसार, गाडी चल्ने क्षेत्रमा मतदातालाई मतदान केन्द्रसम्म ओसारेर भए पनि चुनाव सम्पन्न गर्नेबारे छलफल भइरहेको छ। उनले निर्वाचनलाई कुनै पनि हालतमा सफल बनाउने सरकारको दृढ संकल्प रहेको बताइन्।

प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा गरिने पुनः स्पष्ट पार्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सर्ने कुनै सम्भावना नरहेको बताइन्। “निर्वाचन सर्दै सर्दैन, तोकिएकै समयमा हुन्छ,” उनले दृढतापूर्वक भनिन्।

निर्वाचनमार्फत देशले राजनीतिक निकास पाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले स्थायित्व र शान्ति कायम गर्न निर्वाचन कोसेढुंगा सावित हुने उल्लेख गरिन्। उनले लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउनु सबैको साझा दायित्व भएको समेत बताइन्।

सम्बन्धित समाचारसबै