काठमाडौँ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम भएको छ। निर्वाचन आयोगका अनुसार यो संख्या फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने मतदातालाई आधार मानेर तय गरिएको हो।
निर्वाचन आयोगले मंगलबार (माघ २० गते) प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रको क्षेत्रगत मतदाता विवरण सार्वजनिक गरेको हो। सार्वजनिक तथ्यांकअनुसार सबैभन्दा धेरै मतदाता रामेछाप जिल्लामा रहेका छन्। एउटै निर्वाचन क्षेत्र रहेको रामेछापमा कुल १ लाख ८७ हजार ९५२ मतदाता दर्ता भएका छन्।
त्यस्तै, अर्घाखाँची जिल्लामा १ लाख ७१ हजार ६५२ मतदाता रहेका छन्। अर्घाखाँची पनि एउटै निर्वाचन क्षेत्र भएको जिल्ला हो। आयोगका अनुसार यी दुई जिल्लामा मतदाताको संख्या अन्य एकल निर्वाचन क्षेत्र भएका जिल्लाभन्दा बढी रहेको छ।
यसको विपरीत, सबैभन्दा कम मतदाता मनाङ जिल्लामा रहेका छन्। मनाङमा जम्मा ७ हजार मतदाता मात्र रहेको आयोगले जनाएको छ। मनाङ पनि एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो, जहाँ भौगोलिक अवस्था र जनसंख्या न्यून रहेको कारण मतदाता संख्या कम देखिएको हो।
निर्वाचन आयोगका अनुसार क्षेत्रगत रूपमा मतदाता संख्या फरक–फरक हुनु भौगोलिक बनावट, बसोबासको घनत्व र जनसंख्याको आधारमा स्वाभाविक रहेको छ। आयोगले निर्वाचनलाई निष्पक्ष, स्वच्छ र समयमै सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढिरहेको जनाएको छ।
आयोगले सार्वजनिक गरेको क्षेत्रगत मतदाता विवरणले आगामी निर्वाचनको व्यवस्थापन, सुरक्षा र मतदान केन्द्र व्यवस्थापनमा महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।
मतदाता संख्या हेर्नुहोस्,(सूचीसहित)–: matdata-suchi-082-1770104795