बर्दिबास । विश्व शान्ति, आपसी भातृत्व र समृद्ध नेपालको सन्देश बोकेर पूर्वदेखि पश्चिमतर्फ साइकल यात्रामा निस्किएको सात सदस्यीय टोली मंगलबार महोत्तरीको बर्दिबास आइपुगेको छ। ‘वर्ल्ड साइकल टुर क्याम्पियन नेपाल’ नामक संस्थाको आयोजनामा भइरहेको यस यात्राको नेतृत्व काठमाडौँ कीर्तिपुर निवासी ४० वर्षीय कवि महर्जनले गरिरहेका छन्।
गत आइतबार पूर्वी नाका मेचीबाट यात्रा सुरु गरेको टोली तेस्रो दिन बर्दिबास आइपुगेको हो। यात्राको उद्देश्य विश्व भातृत्वको भावना फैलाउने, स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने र देशको समृद्धिका पक्षमा सकारात्मक सन्देश प्रवाह गर्ने रहेको टोली नेता महर्जनले जानकारी दिए।
प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा भइरहेको यो यात्राका क्रममा साइकल यात्रीहरूले बाटोमा भेटिएका सर्वसाधारणसँग संवाद गर्दै उनीहरूको धारणा समेत संकलन गरिरहेका छन्। टोलीका अनुसार अधिकांश नागरिकले आसन्न निर्वाचनबाट राजनीतिक स्थायित्व कायम भई मुलुक समृद्धिको दिशातर्फ अघि बढ्ने अपेक्षा व्यक्त गरेका छन्।
बर्दिबासमा आयोजित स्वागत कार्यक्रममा स्थानीय उद्योगी–व्यवसायीहरूले यात्राका क्रममा विभिन्न जिल्लामा देखिएको चुनावी वातावरणबारे जिज्ञासा राखेका थिए। त्यसक्रममा महर्जनले झापादेखि धनुषासम्मका जिल्लामा निर्वाचनप्रति जनचासो र उत्साह उल्लेखनीय रूपमा देखिएको प्रतिक्रिया दिएका थिए।
संस्थाको १०औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको यस साइकल यात्रामा ललितपुरका रवीन्द्र बज्राचार्य, सरिता महर्जन, विकास शाक्य, नीरु बज्राचार्य, भरत शाक्य र मञ्जु शाक्य सहभागी छन्। टोलीले पूर्व–पश्चिम राजमार्ग आसपासका धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्दै करिब १५ दिनभित्र महाकाली पुग्ने लक्ष्य लिएको छ।
बर्दिबास उद्योग वाणिज्य संघका महासचिव उत्तमकुमार श्रेष्ठलगायत स्थानीय व्यवसायीहरूले टोलीलाई सम्मान तथा स्वागत गरेका थिए। बर्दिबासको बसाइपछि टोली मंगलबार नै निजगढतर्फ प्रस्थान गरेको छ।