चुनीखेल नयाँबस्तीमा आगलागी, २४ परिवार विस्थापित

0 Shares

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ अन्तर्गत चुनीखेल नयाँबस्तीमा मंगलबार राति भएको आगलागीबाट २४ परिवार विस्थापित भएका छन् । राति करिब पौने ११ बजेतिर सुरु भएको आगो सवा १ बजेपछि मात्र नियन्त्रणमा आएको थियो ।

स्थानीयवासीका अनुसार बस्तीको बीच भागमा रहेको लामो टहराबाट आगलागी सुरु भई छिट्टै आसपास फैलिएको थियो । टहराभित्र रहेका मानिसहरू भाग्न नपाउँदै आगो फैलिँदा केही समय त्रासको अवस्था सिर्जना भएको थियो । आगलागीका क्रममा टहराभित्र फसेका ७ जनालाई सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा सुरक्षित रूपमा उद्धार गरिएको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति भने नभएको बताइएको छ ।

आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकल परिचालन गरिएको थियो । दमकल, नेपाल प्रहरी, नगरपालिकाका कर्मचारी तथा स्थानीयवासीको संयुक्त प्रयासपछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको हो ।

बुढानीलकण्ठ–१३ का वडा अध्यक्ष टीकानारायण श्रेष्ठका अनुसार आगलागीबाट २४ कोठा बराबरको लामो टहरा पूर्ण रूपमा जलेर नष्ट भएको छ । ती टहरामा विभिन्न जिल्लाबाट रोजगारीका लागि आएका मजदुर तथा न्यून आय भएका परिवारहरू भाडामा बस्दै आएका थिए । ‘त्यहाँ २४ परिवार बसोबास गर्दै आएका थिए । आगलागीपछि सबै परिवार विस्थापित भएका छन्,’ वडा अध्यक्ष श्रेष्ठले बताए ।

आगलागीपछि विस्थापित परिवारलाई नजिकै रहेका अन्य टहरामा अस्थायी रूपमा बस्ने व्यवस्था मिलाइएको छ । साथै, नगरपालिकाको समन्वयमा खाद्यान्न, लत्ताकपडा तथा आवश्यक राहत सामग्री उपलब्ध गराउने तयारी भइरहेको वडा कार्यालयले जनाएको छ ।

प्रारम्भिक रूपमा आगलागी विद्युत सर्ट भएर भएको अनुमान गरिएको छ । यद्यपि, आगलागीबाट भएको कुल क्षतिको विस्तृत विवरण भने प्राप्त हुन बाँकी रहेको छ । प्रहरीले घटनास्थलमा मुचुल्का उठाउने प्रक्रिया सुरु गरेको र आगलागीको वास्तविक कारण तथा क्षतिको विवरण संकलन गरिरहेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

घटनापछि स्थानीयवासीले बस्ती क्षेत्रमा कमजोर विद्युतीय तार, अव्यवस्थित टहरा तथा दमकल पुग्न कठिन संरचनाका कारण आगलागीको जोखिम उच्च रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले यस्ता बस्तीमा नियमित अनुगमन, सुरक्षित विद्युत जडान तथा दीर्घकालीन रूपमा वैकल्पिक बसोबासको व्यवस्था गर्न स्थानीय सरकारसँग माग गरेका छन् ।

सम्बन्धित समाचारसबै