निर्वाचन सुरक्षाको अन्तिम घेरा सक्रिय: नेपाली सेना फिल्डमा

0 Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले आजदेखि औपचारिक रूपमा निर्वाचन सुरक्षा जिम्मेवारी सम्हालेको छ । निर्वाचन सुरक्षाको अन्तिम तथा निर्णायक तह मानिने ‘तेस्रो सुरक्षा घेरा’ सम्हाल्दै नेपाली सेना ब्यारेकबाट फिल्डमा परिचालित भएको हो ।

निर्वाचन आउन अब एक महिना मात्र बाँकी रहँदा सुरक्षा व्यवस्था थप मजबुत बनाउने उद्देश्यसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागलाई एकीकृत सुरक्षा योजनाअनुसार परिचालन गरिएको छ । यस योजनाअन्तर्गत निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ समेत सुरक्षामा खटाइने भएका छन् ।

सुरक्षा योजनाअनुसार मतदानस्थलको भित्री घेराको जिम्मेवारी नेपाल प्रहरी र निर्वाचन प्रहरीले सम्हाल्नेछन् । दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी बल रहनेछ भने बाहिरी तथा रणनीतिक घेराको जिम्मेवारी नेपाली सेनाले लिनेछ । सशस्त्र प्रहरीले सेना र नेपाल प्रहरीसँग समन्वय गर्दै सुरक्षा व्यवस्थापन गर्नेछ ।

नेपाली सेनाले १६५ वटै निर्वाचन क्षेत्रमा आजदेखि नै परिचालन सुरु गरेको जनाएको छ । सेनाले बाहिरी घेराबाट समग्र सुरक्षा अवस्थाको निगरानी र आवश्यक परे तत्काल हस्तक्षेप गर्ने भूमिका निर्वाह गर्नेछ ।

आसन्न निर्वाचनमा ३ हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगले माघ ४ गतेदेखि आचारसंहिता लागू गरिसकेको छ । आयोगका अनुसार यस निर्वाचनमा ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कूल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता छन् ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् । नेपाल प्रहरीतर्फबाट ७७ हजार सुरक्षाकर्मी परिचालित हुनेछन् । नियमित जनशक्तिले अपुग हुने भएपछि थप एक लाख ३३ हजार ‘निर्वाचन प्रहरी’ भर्ना गरिएको छ ।

सुरक्षा चुनौतीका आधारमा मतदानस्थललाई तीन वर्गमा विभाजन गरिएको छ । २ हजार ८४५ मतदानस्थल सामान्य, ४ हजार ४४२ संवेदनशील र ३ हजार ६८० मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ । सोहीअनुसार प्रहरी परिचालन र सुरक्षा व्यवस्थापन भइसकेको नेपाल प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपालबाट ३४ हजार ५७६ नियमित जनशक्ति र १५ हजार ११० निर्वाचन प्रहरी गरी कूल ४९ हजार ६८६ जना परिचालित हुनेछन् । सशस्त्र प्रहरी बलका अनुसार निर्वाचन अवधिभर उच्च सतर्कता अपनाइएको छ र कुनै पनि अप्रिय घटना भए १० मिनेटभित्र घटनास्थलमा पुग्ने गरी सुरक्षा टोली परिचालन गरिएको छ ।

सम्बन्धित समाचारसबै