काठमाण्डौ । नेपाल आयल निगमले आजदेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुने र बजारमा अभाव हट्ने दाबी गरेको छ। लामो समय उपभोक्तालाई ग्यास सहजै नपाउँदा समस्या भएको अवस्थामा निगमले अब स्थिति सुधार भइरहेको जानकारी दिएको हो।
माघ सुरु भएसँगै विशेषगरी काठमाण्डौ उपत्यकामा ग्यासको अभाव बढी देखिएको थियो। उपभोक्ताहरूले लामो समयसम्म पालो पर्खिनुपर्ने बाध्यता भोग्नु परेको थियो भने बिक्रेताहरूले ग्यास उपलब्ध नभएको कारणले ग्राहकलाई फर्काउने गरेको र डिपोहरू पनि आपूर्तिमा समस्या भैरहेको जानकारी दिएका थिए।
जाडो मौसममा ग्यासको खपत बढ्ने भएकाले अभाव हुने गरेको उनीहरूको भनाइ थियो। नेपाल आयल निगमका उपनिर्देशक तथा प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार, भारतबाट मासिक ४९ हजार ५ सय मेट्रिक टन ग्यास आयात हुँदै आएको छ र अहिले देशभरका ६० वटा उद्योगलाई आपूर्ति उपलब्ध गराइएको छ।
निगमले उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै बजारलाई सामान्य अवस्थामा फर्काउन पहल गरिरहेको जनाएको छ। साथै, आउँदो निर्वाचनका लागि लक्षित गरी थप दुई हजार मेट्रिक टन ग्यास आयात गर्ने तयारी पनि भइरहेको प्रवक्ता ठाकुरले जानकारी दिए।