सरकार चुनाव जिताउन कुनै उम्मेदवारको पक्षमा लागेको जस्तो देखिन्छ:एमाले सचिव बस्नेत

0 Shares

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले हालको निर्वाचन प्रक्रियामा सरकारले केही उम्मेदवारलाई जिताउन र आफ्नो एजेण्डा स्थापित गर्न प्रत्यक्ष संलग्न भएको आरोप लगाएका छन्।

आज काठमाडौंमा आयोजित सूर्य ध्वजावाहक उम्मेदवारहरूसँगको संवाद कार्यक्रममा बस्नेतले झापा–५ मा देखिएका पछिल्ला घटनाक्रमले निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको बताए। उनले रास्वपाबाट उम्मेदवार बनेका बालेन साहकी श्रीमतीको घरदैलोमा सिभिल प्रहरी परिचालन हुनु र उनीहरूले भोट माग्ने अवस्था सिर्जना हुनु सरकारको प्रत्यक्ष हस्तक्षेप भएको संकेत भएको बताए।

बस्नेतले झापा–५ मा मनोनयन दर्ता हुनुअघि नयाँ प्रहरी प्रमुख (एसपी)को नियुक्ति, एमाले अध्यक्ष केपी शर्मा ओलीको विराटनगर विमानस्थलमा गरिएको चेकजाँच र घरदैलो अभियानमा सिभिल प्रहरी प्रयोग सामान्य घटना नभएको दाबी गरे। “निर्वाचन कसैको एजेण्डा स्थापित गर्न वा कसैलाई जिताउनका लागि हो भने सरकार त्यसको माध्यम बन्न खोजेको देखिन्छ,” उनले भने।

त्यस्तै, उनले संसद पुनगठनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा अल्झिनुमा न्यायिक प्रणालीमाथि दबाब र हस्तक्षेप भएको आरोप पनि लगाए। प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूको अचानक सम्पर्कविहीनता र फोन बन्द गर्ने प्रवृत्तिले न्यायिक निर्णय प्रक्रियालाई प्रभावित बनाएको उनको भनाइ छ।

बस्नेतले देश ठूलो वैदेशिक आक्रमणको संकेततर्फ गइरहेको दाबी गर्दै न्यायिक प्रणाली कमजोर पार्ने प्रयास भइरहेको बताए। “सर्वोच्च, उच्च र जिल्ला अदालतहरू मात्र जलेका छैनन्, हाम्रो सम्पूर्ण न्यायिक प्रणाली जलिरहेको अवस्था छ,” उनले भने।

उनका अनुसार डर, लोभ, प्रलोभन वा सम्भावित महाअभियोगको त्रासका कारण संसद पुनस्थापनासम्बन्धी मुद्दा ढिलाइ भैरहेको छ। बस्नेतले सर्वोच्च अदालतले छिटो निर्णय गर्नुपर्ने माग गर्दै संसद पुनस्थापना भए निर्वाचनको नाममा भइरहेको खर्च र गतिविधि अनावश्यक हुने चेतावनी दिए।

सम्बन्धित समाचारसबै