काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले सरकार हालको निर्वाचन प्रक्रिया सार्ने षड्यन्त्रमा रहेको आरोप लगाएका छन्।
नेकपा एमाले प्रचार तथा प्रकाशन विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै थापाले प्रधानमन्त्रीले दिइरहेका संकेतलाई उद्धृत गर्दै यस्तो आशंका व्यक्त गरे। उनले भने, “निर्वाचन सार्ने छनक प्रधानमन्त्रीले गरिरहनु भएको छ। केही दिन अघि उहाँले हिमाली क्षेत्रको निर्वाचन सर्न सक्ने सम्भावना रहेको बताएका थिए, त्यसैको उदाहरण हो।”
थापाले सरकार विभिन्न षड्यन्त्रमार्फत निर्वाचनमा हस्तक्षेप गर्ने, राजनीतिक दलहरुलाई विवादमा तान्ने र न्यायालयमा आफ्नो प्रभाव विस्तार गर्ने काममा सक्रिय रहेको दाबी गरे। उनका अनुसार, यस किसिमको गतिविधिले निर्वाचनको निष्पक्षता र लोकतान्त्रिक प्रक्रियामा गम्भीर प्रश्न उठाउने खतरा छ।