मादुरोको रिहाइको माग गर्दै काराकसमा विशाल प्रदर्शन

0 Shares

काठमाडौँ । अमेरिकी सैन्य कारबाहीपछि अपदस्थ गरिएका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोको रिहाइको माग गर्दै राजधानी काराकसमा हजारौँ समर्थकहरू सडकमा उत्रिएका छन्। प्रदर्शनकारीहरूले मादुरो भेनेजुएलाका लागि अपरिहार्य नेता भएको दाबी गर्दै न्यूयोर्कमा लागुऔषधसम्बन्धी मुद्दा सामना गर्न जबरजस्ती लगिएको विरोधमा नाराबाजी गरेका छन्।

सरकारद्वारा आह्वान गरिएको पदयात्रा र विरोध प्रदर्शन सयौँ मिटरसम्म फैलिएको थियो। सहभागीमध्ये धेरैजसो सार्वजनिक क्षेत्रका कर्मचारी रहेका थिए। उनीहरूले मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसका तस्बिर बोकेका थिए भने भेनेजुएलाको राष्ट्रिय झण्डा फहराउँदै पूर्व राष्ट्रपति ह्युगो चावेजको नाम जोडिएको रातो पोसाक लगाएका थिए।

यता, अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज राजनीतिक सङ्क्रमणको चुनौती सामना गरिरहेका छन्। वासिङ्टनले रोड्रिगेज सरकारसँग सहकार्यको संकेत दिँदै मादुरो समर्थक समूह र भेनेजुएलाका जनताको समर्थन जुटाउने प्रयास गरिरहेको जनाइएको छ।

यसअघि मादुरोका कट्टर समर्थक मानिने रोड्रिगेजले उपराष्ट्रपतिको रूपमा समेत काम गरिसकेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोड्रिगेज अमेरिका सँग सहकार्य गर्न इच्छुक रहेको र भेनेजुएलाको विशाल तेल भण्डारमा पहुँच दिन तयार रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय दबाबपछि रोड्रिगेजले केही राजनीतिक बन्दीहरूलाई रिहा गर्ने तथा हाइड्रोकार्बन उद्योगलाई निजी लगानीका लागि खोल्ने प्रक्रिया अघि बढाएका छन्। मंगलबार अमेरिकी मिसनले सार्वजनिक गरेको भिडियोमा रोड्रिगेजले भेनेजुएलालाई “मैत्रीपूर्ण, स्थिर, समृद्ध र लोकतान्त्रिक” राष्ट्रमा रूपान्तरण गर्ने तीन चरणीय योजना प्रस्तुत गरेका छन्।

यसैबीच, मंगलबार नै सयौँ विश्वविद्यालयका विद्यार्थी र राजनीतिक बन्दीका आफन्तहरूले राजधानीमा छुट्टै प्रदर्शन गर्दै राजनीतिक बन्दी रिहाइसम्बन्धी कानुन छिटो पारित गर्न माग गरेका छन्।

रोड्रिगेजले आवश्यक कानुनमा गहन काम भइरहेको बताउँदै यसले राजनीतिक हिंसा र चरमपन्थको अवधिमा राष्ट्रिय नीति कार्यान्वयन गर्न मार्ग प्रशस्त गर्ने बताएका छन्। उता, विपक्षी दलहरूले मादुरो अपदस्थ भएपछि नयाँ निर्वाचन गराउनुपर्ने मागलाई निरन्तर अघि सारिरहेका छन्।

सम्बन्धित समाचारसबै