न्यायाधीश नियुक्ति प्रक्रिया रोक्न निर्वाचन आयोगको निर्देशन

0 Shares

काठमाडौँ । निर्वाचन आचारसंहिता लागू भइसकेको जनाउँदै निर्वाचन आयोगले न्याय परिषद्लाई नयाँ न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी गत माघ ५ गतेदेखि नै देशभर आचारसंहिता प्रभावमा रहेको आयोगले स्मरण गराएको हो।

न्याय परिषद् सचिवालयले ज्येष्ठताका आधारमा न्यायाधीश नियुक्तिका लागि गरेको पत्राचारको जवाफमा आयोगले आचारसंहिता उल्लङ्घन हुन सक्ने भन्दै नियुक्ति प्रक्रिया स्थगन गर्न निर्देशन दिएको जनाएको छ। आयोगका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आचारसंहिताको अवधिभर कुनै पनि नयाँ नियुक्ति, पदस्थापन वा सरुवा–बढुवा गर्न नमिल्ने व्यवस्था छ।

यसअघि लोकसेवा आयोगको खुला प्रतिस्पर्धाबाट छनोट भएका जिल्ला न्यायाधीशहरूको नियुक्ति भने सम्पन्न भइसकेको छ। ती न्यायाधीशहरूको हाल पदस्थापनाको प्रक्रिया जारी रहे पनि अन्य नयाँ नियुक्तिहरू निर्वाचन सम्पन्न नभएसम्मका लागि रोकिएको आयोगले स्पष्ट पारेको छ।

निर्वाचन आयोगले यसअघि नै सरकार तथा सबै संवैधानिक निकायहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्दै नियुक्ति, सरुवा र बढुवाजस्ता निर्णय नगर्न औपचारिक रूपमा जानकारी गराइसकेको छ।

सम्बन्धित समाचारसबै