काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलतर्फ उडेको टर्कीस एयरको विमानमा उडानको क्रममा इन्जिनमा आगलागी देखिएपछि विमानलाई भारतको कोलकता डाइभर्ट गरिएको छ।
विमानस्थल स्रोतका अनुसार टर्कीस एयरको उक्त जहाज बुधबार दिउँसो १ बजेर २९ मिनेटमा काठमाडौँबाट उडेको थियो। उडानको केही समयमै जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत प्राप्त भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खोज तथा उद्धार समन्वय केन्द्रमा आपतकालीन रिपोर्ट गरिएको थियो।
उक्त घटनापछि पाइलटले सुरक्षा सतर्कता अपनाउँदै विमानलाई कोलकतातर्फ मोडेका थिए। विमान बुधबार अपराह्न ३ बजेर ३ मिनेटमा कोलकता विमानस्थलमा सुरक्षित अवतरण गरेको जनाइएको छ।
विमानमा २२५ जना यात्रु र ११ जना चालक दलका सदस्य गरी कुल २३६ जना सवार थिए। सबै यात्रु र चालक दलका सदस्यहरू सकुशल रहेको विमानस्थलले पुष्टि गरेको छ।