स्वच्छ निर्वाचन भयो भने नेकपा अग्रस्थानमा आउँछ : प्रचण्ड

0 Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निष्पक्ष, स्वच्छ र धाँधलिरहित वातावरणमा निर्वाचन सम्पन्न भए नेकपा देशकै अग्रणी दल बन्ने दाबी गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले सामाजिक सञ्जालको चर्चा र गतिविधिले चुनावी परिणाम निर्धारण नगर्ने स्पष्ट पारे। राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै उनले सामाजिक सञ्जालमा हुने ‘हाहा–हुहु’ ले राजनीतिक यथार्थ बदल्न नसक्ने टिप्पणी गरे।

“यदि निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रूपमा भयो भने नेपाली कम्युनिस्ट पार्टी पहिलो नम्बरमा आउने सम्भावना बलियो छ,” उनले भने, “सोसल मिडियामा हाँसो–ठट्टा गरेर मात्रै चुनाव जितिँदैन।”

प्रचण्डले सरकारलाई निर्वाचन एकै चरणमा सम्पन्न गर्न आग्रह गर्दै निष्पक्ष वातावरणको सुनिश्चितता गर्नुपर्ने बताए। उनले सरकारबाट स्वच्छ र पारदर्शी निर्वाचन गराउने स्पष्ट ग्यारेन्टी आवश्यक रहेको उल्लेख गरे।

उनका अनुसार राष्ट्रलाई एकताबद्ध गर्न सक्ने, भ्रष्टाचारविरुद्ध उभिन सक्ने, सुशासन र आर्थिक विकासलाई अघि बढाउन सक्ने तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित राख्न सक्ने नेतृत्व र पार्टी कुन हो भन्ने कुरा नेपाली जनताले बुझिसकेको छ।

“देशलाई जोड्न सक्ने, सामाजिक न्याय, सुशासन र आर्थिक विकासको एजेण्डा बोकेर अघि बढ्न सक्ने शक्ति को हो भन्ने कुरा जनताले राम्ररी चिनेका छन्,” उनले भने, “यसपटक सही वातावरणमा चुनाव भयो भने हामी सही स्थानमा पुग्छौँ।”

प्रचण्डले आगामी फागुन २१ गते नै निर्वाचन हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरे। निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशंका निराधार भएको बताउँदै उनले विगतमा पनि यस्तै भ्रम सिर्जना भएको स्मरण गराए।

सम्बन्धित समाचारसबै