अराजकता मच्चाएर दोष ममाथि थोपर्ने प्रयास भयो : ओली

0 Shares

झापा । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रघाती तत्वहरूले योजनाबद्ध रूपमा अराजकता सिर्जना गरी आफूमाथि गम्भीर आरोप लगाउने काम गरेको बताएका छन्। झापावासीहरूसँगको भेटघाटका क्रममा उनले भदौ २३ र २४ गते भएका हिंसात्मक घटनालाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्।

अध्यक्ष ओलीले उक्त घटनाका बेला केही समूहले उपद्रव मच्चाएर राष्ट्रियस्तरको अराजकता सिर्जना गर्ने प्रयास गरेको दाबी गरे। आफूले पहिल्यै सम्भावित जोखिमबारे सचेत गराएको भए पनि त्यसलाई पूर्ण रूपमा रोक्न नसकिएको उनको भनाइ थियो।

उनले आगजनी र हत्या गर्ने समूहले नै उल्टै आफूलाई हत्यारा, षड्यन्त्रकारी र घृणित आरोप लगाएर देशलाई बद्नाम गर्ने प्रयास गरेको आरोप लगाए। “आगो लगाउने र मान्छे मार्नेहरूले नै दोष हामीमाथि थोपरे,” ओलीले भने, “प्रधानमन्त्रीले गोली चलाउने आदेश दिन्छ भन्ने आरोप सरासर गलत हो।”

प्रधानमन्त्रीले गोली चलाउने आदेश दिन नसक्ने स्पष्ट पार्दै उनले यस्तो आरोप लगाउनेहरू या त अज्ञान छन् वा आपराधिक मनसायबाट प्रेरित रहेको टिप्पणी गरे। उनका अनुसार सुरक्षाकर्मीले परिस्थिति हेरेर निर्णय गर्ने व्यवस्था हुन्छ, प्रधानमन्त्रीको प्रत्यक्ष आदेशमा गोली चलाइँदैन।

ओलीको यो अभिव्यक्ति भदौ २३ गते भएको जेन–जी आन्दोलनसँग सम्बन्धित हिंसात्मक घटनापछि आएको हो। उक्त घटनामा प्रदर्शनकारीको आक्रमण, आगजनी र प्रहरी कारबाहीका क्रममा दर्जनौँको ज्यान गएको थियो। सोही घटनापछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसयता उनले पटक–पटक आफूले गोली चलाउने आदेश नदिएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गर्दै आएका छन्।

अध्यक्ष ओलीले घटनाका क्रममा लुटपाट, आगजनी र हत्या कसले गर्‍यो भन्नेबारे अझै स्पष्ट पहिचान हुन नसकेको उल्लेख गर्दै सत्य तथ्य बाहिर ल्याउन आवश्यक रहेको बताए। “मराउने को हुन्, मार्ने को हुन् भन्ने कुरा अझै खुल्न सकेको छैन,” उनले भने।

झुटा प्रचार र आरोपका बाबजुद पनि वास्तविकता आम नागरिकसमक्ष पुर्‍याउनुपर्नेमा जोड दिँदै ओलीले तथ्य र सत्यको पक्षमा दृढ भएर उभिन सबैलाई आग्रह गरे।

सम्बन्धित समाचारसबै