काठमाडौँ । झापाको कमल गाउँपालिका–२ मा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालय सञ्चालन हुने घरमा बुधबार राति ढुंगा प्रहार गरिएको छ। जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिनुसार, घरधनी जयराम अधिकारी सुत्ने कोठामा ढुंगा प्रहार हुँदा सामान्य भौतिक क्षति भएको छ।
झापाका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार, “रातिको समयमा घरधनी अधिकारीको सुत्ने कोठाको झ्यालमा ढुंगा प्रहार भएको हो। अन्य किसिमको क्षति वा व्यक्ति हताहत भएका छैनन्। यो रास्वपाको सम्पर्क कार्यालयमाथिको प्रत्यक्ष आक्रमण होइन।”
प्रहरीका अनुसार, उक्त घरको एउटा कोठा भाडामा लिएर रास्वपाले कार्यालय सञ्चालन गर्दै आएको छ भने बाँकी कोठामा अधिकारीको परिवार बस्दै आएको थियो। तोडफोडको समयमा परिवार घरमै उपस्थित थियो।
झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार रहेका छन्। सोही चुनावी प्रचारप्रसार र मतदातासँगको भेटघाटका लागि केही समयअघि सम्पर्क कार्यालय खोलिएको थियो।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको र ढुंगा प्रहारको कारण स्पष्ट हुन बाँकी रहेको जनाएको छ। घटनाबारे खबर पाएपछि जिल्ला प्रहरीको टोली घटनास्थलमा पुगेर प्रारम्भिक जाँच गरेको डीएसपी खड्काले जानकारी दिनुभयो।