जुम्ला। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लाबाट दिएको आफ्नो उम्मेदवारी कुनै व्यक्ति वा राजनीतिक दलविरुद्ध केन्द्रित नभएको स्पष्ट पारेका छन्। उनले निर्वाचनलाई सौहार्दपूर्ण प्रतिस्पर्धाको रूपमा अघि बढाउन चाहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै शाहीले केन्द्र सत्ताबाट जुम्लाका जनप्रतिनिधिहरूले भोग्दै आएको व्यवहारविरुद्ध आफ्नो उम्मेदवारी रहेको दाबी गरेका छन्।
उनले भने, “मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिविरुद्ध होइन, केन्द्र सत्ताले जुम्लाका जनप्रतिनिधिलाई गर्ने दास व्यवहारविरुद्ध हो।”
शाहीले निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै सबै उम्मेदवार एउटै टेबलमा बसेर चिया खाँदै जुम्ली जनताको आशीर्वाद ग्रहण गर्ने संस्कृतिको विकास आवश्यक रहेको बताए।
उनले जुम्लामा शान्त, सभ्य र सौहार्दपूर्ण चुनावी वातावरण बनाउन सबै पक्षलाई सहयोग गर्न आह्वानसमेत गरेका छन्।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विनिता कठायतले शाहीप्रति लक्षित गर्दै मतदातामा भ्रम फैलाएर मत मागिरहेको आरोप लगाएकी छन्।