काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ पारित गर्ने तयारी गरिएको छ। अपराह्न १:१५ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुशीला कार्कीले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यसअघि प्रधानमन्त्री कार्कीले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछिन्। उक्त विधेयक राष्ट्रियसभाको १७ औँ अधिवेशनमा दर्ता भई समितिमा विचाराधीन रहँदै आएको थियो। तर गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो विधेयक संघीय संसदबाट फिर्ता लिने निर्णय गरेको थियो।
त्यस्तै, आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी समितिको अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
यसैबीच, राष्ट्रियसभा विधायन व्यवस्थापन समितिको बैठक पनि आज बिहान ११ बजे बस्दैछ। बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ माथि दफावार छलफल हुने समितिका सभापति तुलसाकुमारी दाहालले जानकारी दिइन्।