काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशमा शान्तिपूर्ण निर्वाचनका लागि आवश्यक सुरक्षा वातावरण निर्माण भइसकेको दाबी गरेका छन्। निर्वाचन घोषणा भएपछि सुरक्षालाई लिएर देखिएको आशंका अब हटिसकेको उनको भनाइ छ।
निर्वाचन आयोगले निर्वाचन घोषणाको भोलिपल्टदेखि नै सुरक्षा चुनौतीबारे गम्भीर छलफल थालेको भण्डारीले बताए। “यो शताब्दीकै सुरक्षाको दृष्टिले पेचिलो विषय हो भन्ने चिन्ता थियो,” उनले भने, “तर अहिलेको अवस्था हेर्दा त्यो आशंका निराधार सावित भएको छ।”
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि देशको राजनीतिक अवस्था अस्थिर बनेको थियो। आन्दोलनकै दबाबमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए भने भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। सोही सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गते निर्वाचनको मिति तोकेका थिए।
विद्रोहपछिको सरकार र पुराना तथा नयाँ राजनीतिक शक्तिबीचको सन्तुलनका कारण प्रारम्भमा निर्वाचन शान्तिपूर्ण हुने–नहुनेमा चासो हुनु स्वाभाविक रहेको भण्डारीले बताए। “संविधान जीवित छ, तर सन्तुलन बिग्रियो भने निर्वाचन प्रभावित हुन सक्छ भन्ने चिन्ता थियो,” उनले भने, “त्यसैले सुरक्षा चुनौती पहिचान गरेर सरकारसँग पटक–पटक छलफल गरियो।”
उनका अनुसार दलका नेता, उम्मेदवारदेखि लिएर सर्वसाधारण मतदाताको सुरक्षासम्मका विषयमा केन्द्रित भएर आयोगले सुरक्षा निकायसँग निरन्तर संवाद गर्दै आएको छ। सरकार र सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलको आधारमा अहिले मतदाताको सुरक्षा सुनिश्चित गर्न सुरक्षा संयन्त्र सक्षम रहेको निष्कर्षमा आयोग पुगेको छ।
“सबै पक्षबाट मूल्याङ्कन गर्दा अब शान्ति सुरक्षाका विषयमा अनावश्यक चिन्ता लिनुपर्ने अवस्था छैन,” भण्डारीले भने, “निर्वाचन ढुक्कसँग, शान्तिपूर्ण रूपमा हुन्छ। बिथोल्ने प्रयास सुरुमै निष्क्रिय पारिएको छ।”