बुटवल। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोविन्द काराखेतीलाई पार्टीबाट निष्कासन गरेको छ। पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर उल्लङ्घन गर्दै पार्टी हितविपरीत व्यक्तिवादी गतिविधिमा संलग्न भएको निष्कर्षसहित उनलाई निष्कासित गरिएको हो।
प्रलोपा रुपन्देही इन्चार्ज पंकज राईले शुक्रबार जारी गरेको विज्ञप्तिमा उम्मेदवार बनेपछि काराखेतीले पार्टीका नेताहरूसँग अनुचित रूपमा रकम माग गरेको, साथै आफ्नै श्रीमती जयन्ता काराखेतीलाई श्रम संस्कृति पार्टीबाट समानुपातिक उम्मेदवार बनाएको पुष्टि भएकाले कारबाही गरिएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा पार्टीको छविमा गम्भीर क्षति पुगेको ठहर गर्दै केन्द्रीय, प्रदेश तथा जिल्ला समितिको संयुक्त निर्णयअनुसार काराखेतीलाई पार्टीबाट हटाइएको जनाइएको छ। विज्ञप्तिमा जिल्ला इन्चार्ज पंकज राईको हस्ताक्षर रहेको छ।
काराखेतीलाई निष्कासन गरेसँगै रुपन्देही–३ मा प्रलोपा पार्टीको उम्मेदवार नरहने भएको छ। अबको चुनावी रणनीतिबारे पार्टी बैठकले छिट्टै निर्णय गर्ने इन्चार्ज राईले जानकारी दिए।
यसैबीच, प्रलोपा रुपन्देही–३ की इन्चार्ज रविना भण्डारीले काराखेतीले पार्टीका कुनै पनि निकायलाई जानकारी नदिई व्यक्तिगत स्वार्थमा अर्को दलका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको जानकारी पाएपछि कारबाही प्रक्रिया अघि बढाइएको बताइन्। भण्डारीले काराखेतीको पक्षमा पार्टीका कोही पनि नरहेको र उनको व्यक्तिगत निर्णयले पार्टीलाई कुनै असर नपर्ने दाबी गरिन्।
उता, काराखेतीले भने आफू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने निर्णयमा पुगेको बताएका छन्। पार्टीसँग रकम मागेको आरोप गलत भएको उनको दाबी छ। तर, जिल्ला इन्चार्ज राईले काराखेतीले आफ्नो ह्वाट्सएप नम्बरबाट क्यूआर कोड पठाउँदै पटक–पटक फोन गरेर रकम मागेको विषय सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।