काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका चम्किला नक्षत्र, वरिष्ठ कलाकार सुनिल थापाको निधनले कला क्षेत्र शोकमग्न भएको छ। हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन्।
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा केही समययता अस्वस्थ रहे पनि सक्रिय जीवनशैलीमै थिए। अचानक आएको हृदयाघातले उनलाई सधैंका लागि हामीबाट टाढा लगेको खबरले सम्पूर्ण चलचित्रकर्मी तथा शुभेच्छुकहरू स्तब्ध बनेका छन्।
नेपाली चलचित्रमा ‘खलनायक’ पात्रलाई समेत नायक सरह सम्मान र लोकप्रियता दिलाउने दुर्लभ कलाकारका रूपमा सुनिल थापाको नाम सधैं सम्झिइनेछ। ‘राते काइँला’ का रूपमा घर–घरमा चिनिएका उनी पर्दामा जति कठोर देखिन्थे, व्यवहारमा त्यति नै सरल र आत्मीय थिए भन्ने सहकर्मीहरू बताउँछन्।
नेपालीसँगै भारतीय चलचित्र उद्योगमा समेत सक्रिय थापाले आफ्नो अभिनय कौशलले सीमाना नाघेर पहिचान बनाएका थिए। उनका दमदार संवाद, प्रभावशाली उपस्थिति र गहिरो आवाजले दर्शकको मन जितेको थियो।
उनका परिवारका सदस्यहरू हाल भारतको मुम्बईमा बसोबास गर्दै आएका छन्। पारिवारिक शोकका यस घडीमा चलचित्र क्षेत्रले एक अभिभावक गुमाएको महसुस गरेको छ।
सुनिल थापाको निधनले नेपाली चलचित्र उद्योगमा अपूरणीय क्षति पुगेको छ। उनको योगदान, समर्पण र सम्झनाहरू सधैं दर्शकको मनमा जीवित रहनेछन्।
दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली।







