काठमाडौँ । आउँदो फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा ४८ घण्टाअघि नै बन्द गरिने भएको छ। मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको १६औँ डिआइजीस्तरीय समन्वय बैठकले उक्त निर्णय गरेको हो।
सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार निर्वाचन अवधिमा सीमा क्षेत्रबाट हुनसक्ने अवाञ्छित गतिविधि रोक्न र सुरक्षा व्यवस्था कडा बनाउन यो कदम चालिएको हो।
बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने, दुई देशबीच सूचनाको आदान–प्रदानलाई तीव्र पार्ने तथा तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण गर्ने विषयमा विस्तृत छलफल भएको थियो। साथै मानव बेचबिखन, नक्कली मुद्रा कारोबार, हातहतियार तथा लागुऔषध ओसारपसार नियन्त्रणमा सहकार्य सुदृढ गर्ने सहमति भएको जनाइएको छ।
दुवै देशका सुरक्षा निकायबीच सीमास्तम्भ संरक्षण, संयुक्त गस्ती परिचालन, यात्रु आवतजावत सहजीकरण, विपद् उद्धार अभ्यास र आपसी खेलकुद गतिविधि सञ्चालनका विषयमा समेत समझदारी बनेको छ।
सीमाक्षेत्रका सम्भावित जोखिमयुक्त नाकाहरू पहिचान गरी खतरा मूल्याङ्कन गर्ने, शरणार्थी तथा आप्रवासीहरूको गतिविधिमाथि निगरानी बढाउने र विभिन्न तहमा नियमित जाँच प्रणाली लागू गर्ने निर्णय पनि बैठकले गरेको छ।
त्यसैगरी, आपराधिक तत्वहरूको सम्भावित घुसपैठ नियन्त्रणमा कडाइ गर्ने र सीमावर्ती क्षेत्रमा जाँडरक्सीको बिक्री–वितरण तथा सेवनमा पूर्ण बन्देज लगाउने विषयमा समेत छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन दुवै देशका सुरक्षा निकायबीच समन्वयलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।