सीमा सुरक्षा बैठकका क्रममा ढलेका एसपी राजेश घिमिरेको निधन

0 Shares

विराटनगर । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकका क्रममा बेहोश भएका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ। हृदयाघातका कारण गएराति उनको निधन भएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिएका छन्।

शनिबार दिउँसो मोरङको विराटचोकमा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीहरूबीच डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेको थियो। सोही क्रममा एसपी घिमिरे अचानक बेहोश भएर ढलेका थिए।

उनी ढलेलगत्तै तत्काल उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो। चिकित्सकहरूले आवश्यक उपचार प्रयास गरे पनि उनलाई बचाउन नसकिएको प्रवक्ता भट्टले बताए।

एसपी घिमिरेको पार्थिव शरीर पोस्टमार्टमका लागि विराट टिचिङ अस्पतालकै शवगृहमा राखिएको छ। उनको असामयिक निधनले सशस्त्र प्रहरी संगठन शोकमा डुबेको छ।

सम्बन्धित समाचारसबै