काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशको प्रधानमन्त्री पदलाई ‘करारको जागिर’ जस्तो रूपमा प्रस्तुत गर्न खोजेको भन्दै व्यंग्य गरेका छन्। शुक्रबार ललितपुरमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री बन्ने विषय सामान्य कर्मचारी नियुक्ति जस्तो सहज प्रक्रिया नभएको बताएका हुन्।
शर्माले प्रधानमन्त्री पदका लागि बलियो राजनीतिक आधार, विचार र संगठन आवश्यक पर्ने उल्लेख गरे। “प्रधानमन्त्री बन्ने कुरा चानचुने कर्मचारी नियुक्त गरेजस्तो होइन,” उनले भने, “त्यसका लागि स्पष्ट दृष्टिकोण, जनआधार र सुदृढ राजनीतिक जग चाहिन्छ।”
उनले पछिल्लो समय देखिएको ‘जेन–जी आन्दोलन’ सन्दर्भ उल्लेख गर्दै २३ र २४ भदौमा भएको उक्त आन्दोलनपछि नेपाली कांग्रेस बाहेक अन्य दल जनतामाझ सुदृढ रूपमा जान नसकेको दाबी गरे। कांग्रेसले भने निरन्तर संगठन सुदृढीकरण र नीति सुधारमार्फत आफ्नो उपस्थिति मजबुत बनाइरहेको उनको भनाइ थियो।
शर्माले नेकपा एमालेले जेन–जी आन्दोलनपछि पार्टी विधान संशोधन गरी नेतृत्व सम्बन्धी प्रावधान परिवर्तन गरेको प्रसंगसमेत उठाए। उनले त्यसलाई राजनीतिक दबाब र परिस्थितिको प्रभावका रूपमा टिप्पणी गर्दै दीर्घकालीन समाधान भने संस्थागत सुदृढीकरणमै निर्भर रहने बताए।