काठमाडौँ। आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन विरोधी गतिविधिलाई नियन्त्रण गरी कानुनी दायरामा ल्याउने तथा पेट्रोलियम पदार्थको खुला खरिद–बिक्री र दुरूपयोगलाई रोक्ने विषयमा केन्द्रीय सुरक्षा समितिले निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने, सञ्चार सम्पर्क नहुने मतदानस्थल पहिचान गरी वैकल्पिक सम्पर्क व्यवस्था गर्ने र मिथ्या तथा भ्रमपूर्ण सूचना तथा घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्ने विषयमा पनि निर्णय गरेको छ।
बैठकमा सामाजिक सञ्जालको दुरूपयोग रोक्न नेपाल प्रहरीको विशेष संयन्त्र सशक्त बनाउने, सुरक्षाकर्मी परिचालन र उम्मेदवारको सुरक्षा व्यवस्थापन सुनिश्चित गर्ने विषयमा समेत छलफल भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन्।
केन्द्रीय सुरक्षा समितिको यो पहलले निर्वाचनको पारदर्शिता बढाउने, मतदाता र उम्मेदवारको सुरक्षा सुनिश्चित गर्ने र चुनावी वातावरणलाई व्यवस्थित बनाउने उद्देश्य राखेको बताइएको छ।