काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा स्थायित्व र बलियो सरकार सुनिश्चित गर्न आफ्नो पार्टीलाई बहुमत दिन मतदातासँग आग्रह गरेका छन्। उनले चितवन–२ का मतदातासँग संवाद गर्दै नेता र दलहरूले गरेको बाचा पूरा नगरेपछि यत्तिकै हाँसेर हिँड्न नपाइने बताए।
लामिछानेले भने, “देशका विभिन्न भागमा मैले पुग्नुपर्ने छ, पार्टीको सभापतिको रूपमा मेरा केही दायित्वहरू छन्। यसपटक चितवन मात्र जितेर काम चल्दैन, देशभरि जित्नुपर्ने अवस्था छ। त्यसैले म यहाँ चुनावको प्रचारकको रूपमा तपाईँहरूको समर्थन माग्दै छु।”
उनले पार्टीका केही व्यक्तिले मात्रै जित्नु पर्याप्त नहुने भन्दै कम्तीमा एकल बहुमत ल्याउनुपर्ने जोड दिए। “कम्तीमा एकल बहुमतको सरकार चलाउनु पर्ने हुन्छ। पाँच वर्षको स्थायी सरकार यो देशले पाउँछ। त्यसपछि कामले बोल्ने छ, हामीले होइन। यति मात्र मागेका छौं, अरू केही होइन,” | यसका लागि हामी तपाईँको विवेकलाई जिम्मा लगाउँदै छौँ। तपाईँको विचारलाई जिम्मा लगाउँदै छौँ।’ उनले जनताको आदेश मानेर नै नयाँ शक्तिहरू एक ठाउँमा ल्याएर चुनावमा होमिएको बताए।