प्रधानमन्त्रीका दाबेदारबीच राष्ट्रिय बहस गरौँ : उदयशमशेर जबरा

0 Shares

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर जबराले आगामी निर्वाचनअघि प्रधानमन्त्रीका रूपमा अघि सारिएका उम्मेदवारहरूबीच राष्ट्रिय स्तरको खुला बहस हुनुपर्ने माग गरेका छन्। ललितपुरमा आयोजित पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अबको राजनीति सामाजिक सञ्जालका भित्तामा सीमित नहुने बताएका हुन्।

उनले देशको अर्थतन्त्र, परराष्ट्र नीति, कृषि, पर्यटन र जलस्रोतजस्ता महत्वपूर्ण विषयमा सार्वजनिक बहस गर्न अन्य दलका नेताहरूलाई चुनौती दिए। “फेसबुक र ट्विटरमा लेखेर मात्र हुँदैन, देशका एजेन्डामा खुला बहस गरौँ,” उनले भने। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय बहसका लागि तत्परता देखाएको उल्लेख गर्दै उनले अन्य युवा उम्मेदवारहरू किन पछि हटिरहेका छन् भन्ने प्रश्न पनि उठाए।

सहमहामन्त्री जबराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित टिप्पणी गर्दै उनीहरू ‘नयाँ’ नभई पुरानै अनुहार भएको दाबी गरे। रास्वपा दुई पटक सरकारमा सहभागी भइसकेको र सभापति रवि लामिछाने दुई पटक गृहमन्त्री बनिसकेको स्मरण गराउँदै उनले विवादित नेतृत्वबाट अपेक्षित परिवर्तन सम्भव नहुने ठोकुवा गरे।

ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवारसमेत रहेका जबराले आगामी निर्वाचनमा नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीका रूपमा अघि सारेको औपचारिक घोषणा गरे। उनले कार्यकर्ताहरूलाई यो चुनाव व्यक्तिको जितहार मात्र नभई गगन थापालाई प्रधानमन्त्री बनाउने अवसरका रूपमा लिन आग्रह गरे। “अबको सरकार गगनको सरकार हुनेछ,” उनले भने, “त्यसका लागि जनमत जुटाउनु हाम्रो दायित्व हो।”

जेन–जी आन्दोलनपछि कांग्रेसले आफूलाई समयानुकूल रूपान्तरण गरेको दाबी गर्दै जबराले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, नेतृत्व हस्तान्तरण प्रक्रिया र नीतिगत सुधारका कारण कांग्रेस अहिलेको सबैभन्दा नवीन र सशक्त पार्टीका रूपमा उभिएको बताए।

सम्बन्धित समाचारसबै