मतदाताको गोपनीयता भङ्ग नगर्न निर्वाचन कार्यालयको कडा चेतावनी

0 Shares

काठमाडौं । जिल्ला निर्वाचन कार्यालय काठमाडौंले सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यममार्फत मतदातासँग “कसलाई मत दिनुहुन्छ?” भन्ने प्रश्न सोध्दै गोपनीयता भङ्ग गर्ने गतिविधिप्रति गम्भीर आपत्ति जनाएको छ। कार्यालयले यस्तो कार्य निर्वाचन आचारसंहिता, २०८२ विपरीत भएको स्पष्ट पारेको छ।

कार्यालयका अनुसार आचारसंहिताको दफा ४ बमोजिम मतदाताको गोपनीयता भङ्ग गर्ने तथा पूर्वनिर्धारित समयभन्दा अगावै प्रचारप्रसार गर्ने कार्य दण्डनीय छ। यस्ता गतिविधि तत्काल रोक्न अनुरोध गर्दै अटेर गरे  कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।

निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान मितिभन्दा १७ दिनअघिदेखि मात्रै जुलुस, आमसभा, कोणसभा, घरदैलो तथा सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्न पाइने व्यवस्था छ। तर, केही राजनीतिक दल, तिनका प्रतिनिधि र उम्मेदवारले समयसीमा नपुगी प्रचार गतिविधि सञ्चालन गरेको जानकारी कार्यालयमा पुगेको जनाइएको छ।

निर्वाचन कार्यालयले पटक पटक छलफल, अन्तरक्रिया र सूचनामार्फत आचारसंहिताबारे जानकारी गराए पनि उल्लङ्घनका घटना दोहोरिएको उल्लेख गरेको छ। निर्धारित समयअघि कोणसभा गर्ने, प्रचार सामग्री प्रकाशन–प्रसारण गर्ने तथा मतदातालाई प्रभाव पार्ने प्रयास भइरहेको गुनासो आएको भन्दै कार्यालयले सचेत गराएको हो।

आचारसंहिता अनुगमन अधिकृतहरूले संयुक्त रूपमा आचारसंहिताको पूर्ण पालना गर्न सबै पक्षलाई आग्रह गरेका छन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन कानुनी व्यवस्था कडाइका साथ लागू गरिने कार्यालयले जनाएको छ।

सम्बन्धित समाचारसबै