राप्रपा संघर्षबाट जन्मिएको पार्टी हो, निषेध गर्ने भ्रम नपाल्नू: अध्यक्ष लिङ्देन

0 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टी कुनै विदेशी शक्तिको आशीर्वादबाट नभई नेपाली माटोमा संघर्षका आधारमा स्थापित भएको दाबी गरेका छन्।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्ती पोखरेलको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपाको अस्तित्व र प्रभावलाई कमजोर आँक्ने प्रयास नगर्न चेतावनी दिए। “राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कसैले कमजोर नठाने हुन्छ। राप्रपालाई निषेध गरेर जान सकिन्छ भन्ने भ्रम कसैले नपालोस्,” लिङ्देनले भने, “सबै चुनौतीहरूको सामना गर्ने सामर्थ्यका साथ हामी तयार छौं, त्यसैले जिस्क्याउने प्रयास कसैले नगर्नुहोस्।”

उनले वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै देशमा अतिवाद र विदेशी हस्तक्षेप बढिरहेको आरोप लगाए। राप्रपा राष्ट्रवाद, स्वाभिमान र स्थायित्वको पक्षमा उभिएको उल्लेख गर्दै उनले आगामी निर्वाचनलाई मुलुकको दिशानिर्धारण गर्ने अवसरका रूपमा लिनुपर्ने बताए।

लिङ्देनले व्यवसायी दुर्गा प्रसाईंमाथि सरकारले पटक पटक पक्राउ गरेको विषय उठाउँदै सरकारको कदमप्रति असन्तुष्टि जनाए। फरक विचार राख्ने व्यक्तिलाई दमन गर्ने प्रवृत्ति लोकतान्त्रिक मूल्यविपरीत भएको उनको भनाइ थियो।

सामाजिक सञ्जालमा फैलाइने सामग्रीप्रति सजग रहन आग्रह गर्दै उनले मतदातालाई फेसबुक, रिल र टिकटकका आधारमा धारणा नबनाई गम्भीर ढंगले देशको भविष्यलाई केन्द्रमा राखेर निर्णय लिन अपिल गरे।

कार्यक्रममा उम्मेदवार कुन्ती पोखरेलले काठमाडौं–२ का मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै राप्रपाको एजेन्डा र प्रतिबद्धता प्रस्तुत गरेकी थिइन्।– न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचारसबै