काठमाडौँ । नेपाली कांग्रेसले आगामी निर्वाचनलाई केन्द्रित गर्दै संगठनात्मक परिचालनलाई तीव्र बनाएको छ। आइतबार बिहान बसेको कार्यसम्पादन समितिको भर्चुअल बैठकले ‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धतासहित पार्टी पंक्तिलाई चुनावी अभियानमा पूर्ण रूपमा सक्रिय गराउने निर्णय गरेको हो।
बैठकपछि जारी ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका’ अनुसार केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रीय तहमा विशेष जिम्मेवारी पाएका बाहेक अन्य सबै नेता तथा कार्यकर्तालाई तत्काल आफ्नै मतदान क्षेत्रमा फर्किन निर्देशन दिइएको छ। पार्टीले ‘जसको पदीय जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने सिद्धान्त अपनाउँदै सबैलाई आ–आफ्नो भूगोलमा सक्रिय हुन भनेको छ।
निर्देशिकामा एक वडाका क्रियाशील सदस्यले अर्को वडा वा क्षेत्रमा गएर काम गर्न नपाउने स्पष्ट व्यवस्था गरिएको छ। प्रत्येक सदस्यले आफ्नै क्षेत्रमा बसेर मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउने, घरदैलो गर्ने र संगठन सुदृढ गर्ने जिम्मेवारी पाएको छ।
यसैगरी, पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थामा आबद्ध नेता–कार्यकर्तालाई पनि अनिवार्य रूपमा आफ्नो क्षेत्रमा फर्केर चुनावी प्रचारमा जुट्न निर्देशन दिइएको छ।
निर्वाचन मिति नजिकिँदै गर्दा कांग्रेसले आन्तरिक व्यवस्थापन, जिम्मेवारी बाँडफाँट र कार्यकर्ता परिचालनलाई व्यवस्थित बनाउन जोड दिएको छ। सबै तहका समितिलाई आफ्नो क्षेत्रको चुनावी कमाण्ड सम्हाल्न, मतदातासँगको सम्बन्ध बलियो बनाउन र पार्टीको एजेन्डा प्रभावकारी रूपमा प्रस्तुत गर्न स्पष्ट निर्देशन दिइएको पार्टीले जनाएको छ।