ढिलाइको अन्त्य गर्ने प्रतिबद्धता र समयमै सडक,सिँचाइ बनाउने कांग्रेसको अठोट: गगन थापा

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक, सिँचाइ लगायत जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पूर्वाधार आयोजना समयमै, गुणस्तरीय र पारदर्शी ढंगले सम्पन्न गर्नु पार्टीको स्पष्ट प्रतिबद्धता भएको बताएका छन्।

सोमबार फेसबुकमार्फत करिब सवा सात मिनेट लामो भिडियो सन्देश सार्वजनिक गर्दै उनले नेपालमा पूर्वाधार निर्माण ढिलाइ हुनु प्रमुख समस्या बनेको उल्लेख गरे। उनका अनुसार आयोजनामा हुने ढिलासुस्तीले विकासको लागत बढाउनुका साथै अर्थतन्त्रको उत्पादकत्वमा समेत नकारात्मक प्रभाव पारेको छ, जसको अवसर लागत अत्यन्तै उच्च रहेको छ।

थापाले चमत्कारिक समाधानको अपेक्षा गरेर समय खेर फाल्न नहुने भन्दै आगामी पाँच वर्ष परिणाममुखी काममा केन्द्रित हुनुपर्ने बताए। “अबको पाँच वर्ष खेर जान दिनु हुँदैन,” उनले भिडियो सन्देशमा उल्लेख गरेका छन्।

पूर्वाधार क्षेत्रमा सुधारका लागि कानुनी संशोधन, संस्थागत क्षमता अभिवृद्धि, सार्वजनिक निकायको कार्यशैली परिवर्तन र वित्तीय स्रोत व्यवस्थापनमा नयाँ मोडेल अपनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले निजी क्षेत्रसँग सहकार्य र विश्वासको वातावरण निर्माण गर्नुपर्ने धारणा राखे।

साथै अनुगमन तथा मूल्यांकन प्रणालीमा सुधार गरी जोखिम लिन सक्ने साहस देखाउनुपर्नेमा जोड दिँदै थापाले पाँच वर्षभित्र पूर्वाधार क्षेत्रमा रुपान्तरणकारी परिवर्तन सम्भव रहेको विश्वास व्यक्त गरे।

सम्बन्धित समाचारसबै