काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक निर्वाचन सामग्री व्यवस्थापनको तयारी तीव्र बनाएको छ। आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने र ३७ प्रकारका सामग्री सम्बन्धित जिल्लाबाट व्यवस्थापन गर्ने गरी योजना बनाएको छ।
सहायक प्रवक्ता प्रकाश न्यौपानेले दिएको जानकारीअनुसार आयोगबाट प्रत्येक निर्वाचन क्षेत्रमा तालिम तथा मतदान केन्द्रका लागि आवश्यक सुरक्षणशील सामग्री, छेकाबारा, नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड, प्याडको मसी, दुई प्रकारका स्वस्तिक छाप तथा मतपेटिका स्टीकर पठाइनेछ।
त्यस्तै जिल्लास्तरमा व्यवस्थापन गरिने सामग्रीमा सिलिङ बक्स, अनुसूची फारम, पुसपिन, पोल बुकको काम गर्ने डायरी, मार्कर पेन, स्केल, स्टापलर मेसिन, स्टाप्लर पिन, काँचि (स्किसर्स), ग्लुस्टिक, सोसर (काउन्टिङ डम्पर), पञ्चिङ मेसिन, परिचयपत्र होल्डर, भित्री तथा बाहिरी कार्ड, पुरुष र महिला कार्ड, मतदाता क्रमसंख्या सूची, मतदान केन्द्र कार्ड, प्लास्टिक झोला, बोरा, सुतली र प्याकिङ टेप समावेश छन्।
यसैगरी नेपाली कागजको १०×१५ इन्च खाम, कपडासहितको नेपाली खाम (निबिदा मतपत्र राख्नका लागि), सेतो ए४ कागज ३० पाना, फिट्टासहितको रेकर्ड फाइल, धागो, सियो, खाप्सियो, फलाटिन कपडा, सलाइ, दुई मिटरको कोरा कपडा, कालो र रातो जेल पेन तथा चार वटाको मैनबत्ती प्याकेटसमेत जिल्लामै व्यवस्थापन गरिने आयोगले जनाएको छ।