काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रविधिको दुरुपयोग रोक्न निर्वाचन आयोगले टिकटकसँग सम्झौता गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक सञ्जालमार्फत हुने आचारसंहिता उल्लङ्घन र मिथ्या सूचना रोक्न योजनाबद्ध काम भइरहेको बताए। उनले भने, “निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको हो।”
समझदारीपत्र आदानप्रदान कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई र टिकटकका सामाजिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फेर्दोस अल मत्ताकिनले हस्ताक्षर गरेका थिए।
आयोगले विश्वास व्यक्त गरेको छ कि यो साझेदारीले निर्वाचनको स्वच्छता, सही र भरपर्दो जानकारीको पहुँच, तथा समयमै सर्वसाधारणसम्म सूचनाको उपलब्धता सुनिश्चित गर्न मद्दत पुग्नेछ।
समझौता अन्तर्गत टिकटकले निःशुल्क रूपमा सहयोग गर्दै भ्रामक सूचना र हानिकारक सामग्री नियन्त्रणमा योगदान दिनेछ।