रास्वपा उम्मेदवारविरुद्ध भ्रामक सामग्री पोस्ट गरेको आरोपमा एमाले युवा नेता पक्राउ

0 Shares

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई लक्षित गर्दै सामाजिक सञ्जालमा भ्रामक सामग्री प्रकाशन गरेको आरोपमा नेकपा एमालेका एक युवा नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा इनरुवा निवासी विप्लव घोष रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार निर्वाचन क्षेत्र नम्बर ४ का रास्वपा उम्मेदवारविरुद्ध भ्रामक भिडियो पोस्ट गरेको पाइएपछि घोषलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको हो। सामाजिक सञ्जालमार्फत गलत सूचना र अफवाह फैलाएको आरोपमा उनलाई कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यसअघि रास्वपाले विज्ञप्ति जारी गर्दै घोषमाथि कानुनी कारबाहीको माग गरेको थियो। दबाबपछि घोषले सामाजिक सञ्जालमा क्षमायाचना गरेका थिए। तर पछि ‘हाइकमाण्डको सल्लाह’ उल्लेख गर्दै उक्त पोस्ट हटाई पुनः अर्को स्ट्याटस सार्वजनिक गरेका थिए।

प्रहरीले सामाजिक सञ्जालमा भ्रामक सामग्री प्रसारण गर्ने अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको र यस्ता गतिविधिमाथि विशेष निगरानी बढाइएको जनाएको छ।

सम्बन्धित समाचारसबै