विराटनगर । भारतको मेघालयस्थित अवैध कोइलाखानीमा भएको डाइनामाइट विस्फोटमा परी ज्यान गुमाउने नेपालीको संख्या चार पुगेको छ। बेपत्ता भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएसँगै मृतक संख्या चार पुगेको हो।
यसअघि माघ २२ गते पूर्वी जयन्तिया हिल्स जिल्लामा रहेको कोइलाखानीमा भएको विस्फोटमा खोटाङकै बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गीको मृत्यु भएको पुष्टि भइसकेको थियो। पूर्णबहादुर र सुरेन्द्र दाजुभाइ हुन्। पूर्णबहादुर र सुरेन्द्रको घटनास्थलमै ज्यान गएको थियो भने नरबहादुरको उपचारका क्रममा माघ २३ गते मृत्यु भएको हो।
विस्फोटपछि बेपत्ता भएका रत्न राईको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको पारिवारिक स्रोतले जनाएको छ। उनको जीउडालको आधारमा पहिचान गरिएको बताइएको छ। स्थानीय युवा नेत्रविक्रम राउतका अनुसार मृत्युको खबर आएपछि परिवारमा काजकिरिया सुरु भइसकेको छ। उनका छोराहरू माघ २५ गतेदेखि नै किरियामा बसेका छन्।
राई रोजगारीका लागि गत असोज ९ गते मेघालय गएका थिए। सँगै काम गर्दै आएका आफन्तका अनुसार उनको नागरिकता, डायरी र मोबाइल भने कोठामै भेटिएको छ।
मृत्यु भएका तीन जनाको शव सिलाङको झालुपारामा लगेर माघ २६ गते दाहसंस्कार गरिएको घटनास्थल पुगेका प्रकाश खपाङ्गी मगरले जानकारी दिए। मृतक परिवारले शव नेपाल ल्याउन नेपाल सरकारबाट कुनै सहयोग नपाएको गुनासो गरेका छन्।
विस्फोटमा बराहपोखरी सालघारीका ४६ वर्षीय कर्णबहादुर खपाङ्गी, बराहपोखरी भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी र उदयपुर साउनेका ४० वर्षीय ललित मगर गम्भीर घाइते भएका छन्। उनीहरू रोजगारीको खोजीमा गत पुस ३ गते मेघालय गएका थिए। घटनामा दर्जनौं कामदार अझै कोइलाखानीभित्र फसेको अनुमान गरिएको छ।