विराटनगर । अमेरिकाको जर्जिया राज्यस्थित गेनसभिल सहरमा एक सानो प्रशिक्षण विमान व्यस्त सडकमा आपतकालीन अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ। सोमबार दिउँसो भएको उक्त घटनामा विमानले सडकमा गुडिरहेका तीन वटा सवारीसाधनमा ठक्कर दिएको जनाइएको छ।
प्रहरीका अनुसार एक इन्जिनयुक्त हकर बिचक्राफ्ट बीई–३६ विमानमा उडानको केही समयमै प्राविधिक समस्या देखिएको थियो। गेनसभिलस्थित ली गिल्मर मेमोरियल विमानस्थलबाट क्यान्टनको चेरोकी काउन्टी क्षेत्रीय विमानस्थलतर्फ जाँदै गरेको विमानमा इन्जिन समस्या आएपछि पाइलटले पुनः गेनसभिलमै फर्केर अवतरण गर्ने प्रयास गरेका थिए। तर विमानमा पर्याप्त शक्ति नभएकाले विमानस्थलसम्म पुग्न नसकी सडकमा आकस्मिक अवतरण गर्नुपरेको बताइएको छ।
अवतरणका क्रममा विमान व्यस्त सडकमा गुडिरहेका सवारीसाधनतर्फ अघि बढ्दै क्रमशः ठोक्किएको थियो। प्रहरीका अनुसार अवतरणपछि विमानको दायाँ पखेटाले एक सवारीसाधनलाई छोएको र त्यस क्रममा इन्धन ट्यांकी छुट्टिएर एउटा एसयुभीको पछाडिको भाग हुँदै अर्को सवारीसाधनसम्म पुगेको थियो।
दुर्घटनामा केही व्यक्ति सामान्य घाइते भएका छन्। घटनापछि उक्त सडक पूर्ण रूपमा बन्द गरिएको छ भने लामो समयसम्म ट्राफिक जाम हुन सक्ने भन्दै स्थानीय प्रशासनले सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ, जसमा विमान व्यस्त सडकमा अवतरण गर्दै सवारीसाधनमा ठोक्किँदै गएको दृश्य देखिन्छ।
नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटिएसबी) र संघीय नागरिक उड्डयन प्रशासन (एफएए) ले घटनाबारे छानबिन सुरु गरेको जनाइएको छ। एफएएका अनुसार उक्त विमानले स्थानीय समय अनुसार सोमबार दिउँसो १२:१० बजे आपतकालीन अवतरण गरेको थियो।